अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हुँदैछ : प्रधानमन्त्री

राष्ट्रिय समाचार समिति

काठमाडौं, ३० जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो (लिक्विड) तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारबाटै (आज) आइतबार रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गरेका हुन् ।

शिलान्यास गर्दै उनले कोभिड-१९ महामारीको दोस्रो लहर सुरु भएपछि अक्सिजनको अभाव बेहोरेको उल्लेख गर्दै प्लान्टको स्थापना असाधारण खुसीको विषय भएको बताए । ‘दोस्रो लहरले हामीलाई एक्कासी अक्सिजनको अभाव, सिलिन्डरको अभाव ग्रस्त बनायो, त्यतिबेला हामीले महँगो मूल्य तिरेरै पनि अक्सिजन सिलिन्डर किन्यौँ, उनले भने ।

दोस्रो लहरसँगै स्वास्थ्य सामग्रीको माग बढेपछि भारतबाट अक्सिजनलगायत स्वास्थ्य सामग्री आयात गरेको उल्लेख गर्दै त्यस अवस्थामा सरकारले देशभित्रै अक्सिजन उत्पादन गर्ने सोच राख्दै हरेक सय शय्याभन्दा बढी भएका अस्पतालले अनिवार्य रूपमा आफैँले अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्थासमेत ल्याएको पनि प्रधानमन्त्री ओलीले जानकारी गराए ।

महामारीको समयमा अक्सिजन प्लान्टले पनि नपुग्ने देखिएकाले तरल अक्सिजन प्लान्ट राख्ने निष्कर्षमा सरकार पुगेको उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले दोस्रो लहर उचाइमा चढिरहेका बेला तरल अक्सिजन प्लान्ट राख्ने उद्योगी शङ्कर अग्रवालको प्रयास सराहनीय एवम् देशप्रति उत्तरदायी भावनायुक्त भएको बताए ।

उनले कोरोना महामारीबाट अभिभावकविहीन भएका बालबालिकालाई के गर्न सकिन्छ भन्नेमा विचार भइरहेको जानकारी दिए । महामारीका कारणले अभिभावक गुमाएका बालबालिकालाई के गर्ने भन्नेबारेमा अध्ययन हुँदैछ र त्यसअनुसार आवश्यक कदम चालिनेछ, उनले भने । अक्सिजन प्लान्ट स्थापना र सञ्चालनलाई सफल पार्न भन्सार छुटलगायतका सहयोग गर्न सरकार तयार रहेको जानकारी पनि उनले दिए ।

आउँदा दिनमा कोभिड-१९ को महामारी हटिसकेपछि पनि प्लान्टबाट उत्पादन हुने अक्सिजन के गर्ने भन्ने प्रश्न उठ्न सक्ने भन्दै उनले छिमेकी देश र औद्योगिक क्षेत्रमा आपूर्ति गर्न सकिनेसमेत बताए । अक्सिजन प्लान्टको स्थापना र अक्सिजनको उत्पादन पर्याप्त मात्रामा गर्न सकेमा व्यापार घाटा घटाउनसमेत सहज हुने उनको भनाइ थियो । रुपन्देहीको सिमरहवामा स्थापित यस प्लान्टबाट दैनिक ६० मेट्रिक टन अक्सिजन उत्पादन हुन्छ । त्यसबाट दैनिक सात हजार ठूला सिलिन्डरमा अक्सिजन भर्न सकिन्छ ।

प्रतिक्रिया