कम्पनीको घाटा कम गर्न पेट्रोलियम पदार्थको मूल्य बढाइएको हो : आयल निगम

admin

काठमाडौं, ११ असार : नेपाल आयल निगमले कम्पनीको नोक्सानलाई कम गर्नका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपरेको बताएको छ । न्युज एजेन्सी नेपालसँग शुक्रबार कुराकानी गर्दै नेपाल आयल निगम लिमिटेडका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तर्राष्ट्रिय बजारमा क्रुड र डलरको मूल्य अनपेक्षित रूपमा बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने अवस्था आएको बताए ।

अहिले आयल निगम निरन्तर घाटामा गइरहेको भन्दै उनले नाफा कमाउने उद्देश्यका लागि नभइ कम्पनीको नोक्सानीलाई घटाउनका लागि मूल्यवृद्धि गरिएको प्रष्ट्याए । आउँदा दिनमा पनि मूल्यवृद्धि हुनसक्ने उनको भनाइ छ । आयल निगमले यही असार ९ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल र मट्टीतेलको मूल्य दुई रुपैयाँ वृद्धि गरी नयाँ खुद्रा बिक्री मूल्य क्रमशः १२७ रुपैयाँ, ११० रुपैयाँ कायम गरेको छ । 

प्रबन्ध निर्देशक पौडेलले भने, ‘तेल उत्पादनको कटौती आफ्नो ठाउँमा छ । लगानीकर्ताहरू क्रुड र डलरमा केन्द्रित भएको अवस्था छ । हामीले लागत नै महँगोमा किनिसकेपछि कम्पनीले त नाफै नगरे पनि नोक्सान त सहनु भएन नि भन्ने हिसाबले नोक्सानीलाई कम गर्दै जाने रणनीति अपनाएका हौँ । यसमा नाफा कमाउने त कुनै उद्देश्य छैन । अरू नोक्सानीमा नजाओस् भन्ने ध्यानमा राख्दै कार्यविधिको अधिकारको पनि न्यूनतम भन्दा न्यूनतम प्रयोग गरेर मूल्य बढाएको स्थिति हो ।’

त्यसैगरी आन्तरिक उडानको हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरी ८२ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा अमेरिकी डलर २० ले वृद्धि गरी नयाँ बिक्री मूल्य अमेरिकी डलर ७४५ प्रति किलोलिटर कायम गर्ने निर्णय गरेको छ । यति वृद्धि गर्दा पनि आयल निकै अझै घाटामा रहने प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया