काठमाडौँ, १५ असार : भारतभन्दा नेपालमा सात गुणा बढी कोरोना संक्रमण दर रहेकाले भारतीय रणनीति हेरेर यहाँ संक्रमण रोकथाम र नियन्त्रण गर्न नसकिने विज्ञहरूले बताएका छन् । भारतमा कोरोनाविरुद्धको खोप धेरैले लगाइसकेकाले पनि जोखिमको अवस्था उस्तै नरहेको उनीहरूको भनाइ छ ।
विगतमा भारतमा देखिएको संक्रमणको अवस्था, प्रभाव र जटिलताका आधारमा नेपालमा रणनीति बनाउने गरिए पनि अब त्यसो गर्न उचित नहुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. जीडी ठाकुरले बताए ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार त्यहाँ कोभिडको संक्रमण दर २.९४ प्रतिशत देखिएको छ । त्यहाँ संक्रमित निको हुने दर ९६.८० प्रतिशत छ । नेपालमा भने सोमबार पीसीआर परीक्षणको संक्रमण दर २२.६९ प्रतिशत छ ।
संक्रमित निको हुने दर ९२.६ प्रतिशत छ । एक सातायता नेपालमा संक्रमण दर २० प्रतिशत हाराहारी छ । भारतमा भने यो साताको पोजिटिभिटी दर २.८१ प्रतिशत देखिएको छ । भारतले २० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाइसकेको छ । खोप लगाउने काममा अमेरिकालाई जितेको भारतीय दाबी छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार त्यहाँ ३२ करोड ३६ लाख ६३ हजार २ सय ९७ मात्रा खोप लगाइसकेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ