एजेन्सी, १७ असार : चीनले बिहीबार आफ्नो सत्तारुढ कम्युनिस्ट पार्टीको स्थापनाको १००औं वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको औपचारिक कार्यक्रमबारे जानकारी दिइएको छैन । तर राष्ट्रपति सी जिनपिङले एउटा मन्तव्य दिने ठानिएको छ ।
चीनमा कयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र केही हप्तायता पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा प्राथमिकताका साथ स्थान दिइएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।
लामो गृहयुद्धपछि ७२ वर्षअघि चीन शक्तिशाली राष्ट्रको रुपमा देखा परेको हो । वार्षिकोत्सवको अवसरमा राजधानी बेइजिङलगायतका मुख्य सहरहरुमा विशेष सजावट गरिएको छ भने सुरक्षा व्यवस्था पनि कडा पारिएको बीबीसीले जनाएको छ ।
यसैबीच, वार्षिकोत्सव मनाउन वर्षभरि प्रसारणका लागि सय टेलिभिजन कार्यक्रमको मितिहरु तय भइसकेको छ । चीनको उपलब्धिको प्रशंसा गर्ने सय प्रतिशत भनिने गीत पनि सार्वजनिक गरिएको छ जसमा एक सय गायकहरू रहेका बीबीसीले जनाएको छ ।
यस्तै हङकङले पनि (आज) बिहीबार नै २४औं वर्षगाँठ मनाउँदै छ । हङकङमा धेरैजसो उत्सवहरू हुने भए पनि हालैका वर्षमा उक्त मितिमा त्यहाँ बेइजिङ विरोधी प्रदर्शनहरू हुने गरेका छन् । तर गत वर्ष विवादास्पद राष्ट्रिय सुरक्षा कानुन ल्याइएपछि भने विरोधी आवाजहरूलाई बन्द गरिएको छ । हङकङ प्रहरीले कोरोनाभाइरसका कारण लगाइएको प्रतिबन्ध भन्दै र्याली आयोजना गर्न अनुमति दिन अस्वीकार गर्ने आयोजकहरू बताउँछन् ।