अस्पतालका बिरामीलाई गुनासोरहित सेवा प्रदान गरौं : प्रधानमन्त्री

admin

काठमाडौं, २७ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक रूपमा प्राविधिक सामान खरिद नगर्न सचेत गराएका छन् । कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल, वीर अस्पतालको तल निर्मित सर्जिकल भवनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सडकमा फालिएका प्लास्टिक टिपेर गरी पुनः प्रयोगमा ल्याउने गरेको प्रसङ्ग उल्लेख गर्दै अनावश्यक सामान खरिद गरेर प्रयोगविहीन बनाइ देशलाई घाटा हुने काम नगर्न पनि उनले सचेत गराएका छन् ।

उनले भने, ‘इक्विपमेन्ट चाहिए पनि नचाहिए पनि किन्ने । नचाहिएका इक्विपमेन्ट नखोलिकन राख्ने अनि देशको क्षति पुर्‍याउने जस्ता काम नहून् । किन्न आवश्यक पर्दा किन्ने हो । किन्न रुचि राख्न हुँदैन सामान । किनेर सामान निष्क्रिय बनाएर राख्ने, तिनको प्रयोग नगर्ने र प्रयोजनविहीन बनाएर राख्ने र देशलाई ठूलो घाटा । त्यो खालका कुरा हुनुहुँदैन । हामीले हरेक चिजको सदुपयोग गर्नुपर्छ । सक्रिय सदुपयोग हुनुपर्छ ।’ कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र सबैलाई कोभिड-१९ विरुद्धको खोप लगाइसक्ने गरी सरकारले प्रयास अघि बढाएको बताएका छन् ।

सबै नागरिकलाई खोपको सुनिश्चितता गर्ने गरी सरकारले पहलकदमी अघि बढाएको उनले बताएका हुन् । प्रधानमन्त्री ओलीले युनिफाइड केन्द्रीय अस्पतालले नयाँ सफलता हासिल गरेको भन्दै पूर्ण क्षमतामा अविलम्ब सञ्चालन गर्न निर्देशन दिए । अस्पतालका लागि आवश्यक दरबन्दी पनि वृद्धि गरिएको र आवश्यकताअनुसार अत्यावश्यक सामानलगायत मानवीय जनशक्तिको व्यवस्था सरकारले गर्ने प्रतिबद्धता जनाउँदै उनले बिरामीलाई गुनासोरहित सेवा प्रदान गर्न पनि सचेत गराए ।

प्रतिक्रिया