काठमाडाैं, ४ साउन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरु गरेको भन्दै सशक्त प्रतिवादका निम्ति तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।
एमाले केन्द्रीय कमिटीको दशौं बैठकलाई सोमबार तुलसीलाल प्रतिष्ठान च्यासलमा सम्बोधन गर्दै ओलीलेएमाले पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान आफूले गरिसकेको र प्रतिवादका लागि तयार हुनुपर्ने बताउनुभएको हो ।
कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको उहाको भनाई छ । उहाले आफु नेतृत्वमा रहदा सरकारले धेरै राम्रा काम गरेपनि केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि सरकारले गरेका राम्रा कामहरूको विरोध गरेको बताउनुभयो । उहाँले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानुन र लोकतान्त्रिक प्रक्रिया अनुसार मुलुकको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दावी समेत गर्नुभयो ।
बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता नेपालसहितका सांसदले पार्टी विधिविधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।
पार्टीको निर्णय नमान्ने सांसदहरुको क्रियाकलाप पार्टी अनुशासनको दृष्टिले र कम्युनिष्ट आन्दोलन, जनताको भावनाका सबै दृष्टिले सर्वथा अनुचित, अनुशासनहिन र गलत कार्य भएको प्रवक्ता ज्ञवालीले बताउनुभयो । असार २७ गते गरिएको १० बुँदे सहमतिका आधारमा नै बैठक बसेको उहाँको भनाइ थियो ।
प्रवक्ता ज्ञवालीका अनुसार बैठक मंगलबार ३ बजे फेरि बस्नेछ । यसैबीच केन्द्रीय कमिटी बैठक बसिरहेको बेला बैठकस्थल तुल्सीलाल स्मृति प्रतिष्ठानबाहिर कार्यकर्ताले जनमतको अपमान गरेको भन्दै माधव नेपालसहितका नेतालाई कारवाहीको लागि दबाब दिएका छन् । व्यानर र प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका कार्यकर्ता र अखिलको समूहले जनताले सूर्यमा भोट हालेर जिताएकाले संसदमा कांग्रेसलाई भोट दिएको भन्दै त्यस्ता नेतालाई कारवाही गर्न माग गरेका हुन् ।