काठमाडौं, ३ भाद्र : औपचारिक रुपमा नेकपा एमाले विभाजन भएपछि केपी शर्मा ओली र माधव नेपालले (आज) बिहीबार पहिलो पटक फरक पार्टी नेताको हैसियतमा सार्वजानिक रुपमा सम्बोधन गर्दैछन् । ओलीले एमाले अध्यक्ष र माधव नेपालले एमाले समाजवादीको अध्यक्षका हैसियतमा फरक-फरक स्थान र कार्यक्रममा सम्बोधन गर्ने भएका हुन् ।
अध्यक्ष ओलीले बिहीबार नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको आयोजनामा भक्तपुरको चुनदेवीमा आफ्ना कार्यकर्तालाई सम्बोधन गर्दैछन् । त्यस्तै बुधबार मात्रै एमालेबाट छुट्टिएर नेकपा एमाले समाजवादी पार्टीको अध्यक्ष बनेका नेता नेपालले काठमाडौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
यसअघि एमाले वरिष्ठ नेताको हैसियतमा देखिने नेपाल बिहीबारबाट भने नेकपा एमाले समाजवादीको हैसियतमा सम्बोधन गर्न लागेका हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘समाजवादी केन्द्र नेपाल’ को आयोजनामा हुने कार्यक्रममा नेता नेपालसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा।बाबुराम भट्टराईले पनि सम्बोधन गर्दैछन् ।
यस्तै वरिष्ठ नेता माधव नेपालको पक्षमा रहेका दोस्रो तहका नेताहरुले पार्टी एकताको पक्षमा भन्दै नेपालको साथ छोडेका छन् । युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त र अमृत कुमार बोहोराले नेपालको साथ छाडेका हुन् भने यसअघि नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यमध्ये वेदुराम भुसाल र मुकुन्द न्यौपानेले मात्र उनलाई साथ दिएका छन् ।
यस्तै नेताहरु ठाकुर गैरे, अरुण नेपाल, परशुराम मेघी, श्रीमाया थकाली, जीवन घिमिरे, टङ्क कार्की, ममता गिरी, यज्ञराज सुनुवार, सीता गिरी, नरेश खरेल, झपट रावल, कमलजंग राई दनुवार, गणेश पहाडी, प्रकाश शाह, माधव अर्याल, रचना खड्का, राजन राई, राजबहादुर बुढा, सुरेन्द्र मानन्धर, कृष्ण खनाल, हरिबहादुर राई, रविन कोइराला, केदार न्यौपाने, सोमप्रसाद पाण्डे र भानुभक्त जोशीले पनि नयाँ दल दर्ता प्रक्रियामा नेपालको साथ छाडेका छन् ।
नयाँ दल दर्ताको प्रक्रियासँगै एमालेको माधव नेपाल समूह विभाजित भएको हो । नेपाल समूहले नयाँ दल दर्ता गर्दा नाम भएका प्रदीप नेपालले आफू कुनै पक्षमा नरहेको बताइसकेका छन् । उपाध्यक्ष वामदेव गौतमले नयाँ पार्टी गठनमा हस्ताक्षर गरेका छैनन् भने नेता झलनाथ खनालको पनि आधिकारिक निर्णय आइसकेको छैन । फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले पार्टी विभाजन गर्दा ३६ जना केन्द्रीय सदस्यको साथ गुमाउनु परेको छ ।
पार्टी विभाजनको बेला आइपुग्दा नेपालसँग रहेका दोस्रो र तेस्रो पुस्ताका प्रभावशाली नेताहरुले साथ छोडेका छन् । नयाँ पार्टी गठनको प्रक्रियामा सामेल नभए पनि पछि यी नेताहरु पनि आफ्नो पक्षमा आउने नेपाल समूहको दाबी छ । माधव नेपालले दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिमा साविक एमालेका ५८ जना केन्द्रीय सदस्य समेटिएका छन् ।