काठमाडौं, ६ भाद्र : गृह मन्त्रालयले चाडपर्व मनाउँदा भिडभाड नगरि स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई भिडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिने गरी काम गराउन भनेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सांस्कृतिक रूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन आग्रह गर्दै दैनिक आवश्यक वस्तु खरिद र बिक्री गर्दा पनि भिडभाड नगर्न आग्रह गरेका छन् । अब विभिन्न चाडपर्व तथा जात्रा नियमित आउने र यस्ता चाडपर्वमा हुने भेटघाट र भिडभाडले कोरोना भाइरस फैलाउन सक्ने भएकले सचेत हुनुपर्ने प्रवक्ता पोखरेलले बताए ।
अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले स्थानीय प्रशासनले अवस्थाअनुसार भिडभाड रोक्ने भूमिका खेल्न सक्ने प्रवक्ता पोखरेलले बताए । यस्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अहिले पनि कोरोना संक्रमण बढिरहेकाले जनैपूर्णिमासँगै सोमवार हुने गाईजात्रा भिडभाड नगरि मनाउन अनुरोध गरेको छ ।
निषेधाज्ञाका बेलामा पनि ठाउँ-ठाउँका व्यापारिक केन्द्र, मठमन्दिर र सार्वजनिक क्षेत्रमा भिडभाड हुने गरेकाले कोरोनाको जोखिम बढ्दो देखिन्छ । (आज) आइतबार जनैपूर्णिमाका दिन विभिन्न मन्दिरमा मानिसको भिड थियो ।