ओली र एमाले तेस्रो धारबीच बालकोटमा भेटवार्ता

admin

काठमाडौं, ७ भाद्र : एमाले तेस्रो धारका नेताहरु वार्तामा जुटेका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको पक्षमा नखुली बसेका एमाले तेस्रो धारका नेताहरु अध्यक्ष ओलीसँग निर्णायक (आज) सोमबार वार्तामा जुटेका हुन् । उनीहरुले ओली पक्षका नेताहरु सुवास नेम्वाङ र विष्णु पौडेल लगायतका नेतामार्फत ओलीलाई भेटेर छलफल शुरु गरेका छन् ।

वार्ताका लागि ओली निवास बालकोटमा भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य ,रघु पन्त लगायतका तेस्रो धारका नेताहरु पुगेका हुन् । सोमबार या मंगलबारसम्म पनि अध्यक्ष ओलीले भेट नदिए र १० बुँदे कार्यान्वयनबारे प्रतिवद्धता नजनाए पुनः आफ्नो समूहका नेताहरुबीच छलफल गरेर आगामी बाटो तय गर्ने तेस्रोधारका नेताहरुले बताएपछि ओलीले सोमबार बिहानै नेताहरुलाई छलफलमा बोलाएका हुन् ।

ओली पक्षका केही नेताहरुले १० बुँदे कार्यान्वयन भइसकेको र बाँकी कुरा पार्टी बैठकमा आएर राखे भइहाल्छ भन्नेजस्ता हल्का टिप्पणी गरेको भन्दै ओलीको पनि त्यही कुरा भए एकता कुनै हालतमा सम्भव नहुने युवराज ज्ञवालीले बताए । ज्ञवालीले आफूहरु एकताकै पक्षमा रहेकाले मिलनबिन्दु १० बुँदे हुन सक्ने भन्दै त्यसको अक्षरशः पालना हुनुपर्ने बताए ।

माधव नेपाललगायत १४ जनाको कारवाही फिर्ता हुनुपर्ने र अलग दल दर्ताका लागि गरेको प्रयासबाट माधव नेपाल पछाडि हट्नुपर्ने आफूहरुको बटमलाइन भएको ज्ञवालीले बताए । माधव नेपालले एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । उक्त निवेदनमा आयोगले आउँदो बुधबार सनाखत गर्न बोलाएको छ ।

आयोगले त्यसै दिन दल दर्ताको प्रमाणपत्र दिने तयारी गरेकाले त्यसअघि नै तेस्रो धारका नेताहरुले ओलीसँग भेटेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् । आइतबार ओली पक्षका नेता सुवास नेम्वाङ लगायतसँगको कुराकानीमा पनि तेस्रो धारका नेताहरुले एमालेको एकता बचाउन अध्यक्ष ओलीले १० बुँदे कार्यान्वयनको सुनिश्चिततासहित माधव नेपाललगायत १४ जनालाई गरेको कारवाही फिर्ताबाट पछि हटे पार्टी एकता सम्भव रहेको भन्दै त्यसका लागि तयार रहन आग्रह गरेका थिए ।

तर, ओली पक्षले कारवाही फिर्ताको कुनै सम्भावना नरहेको स्पस्ट पारिसकेको छ । यस्तै माधव नेपालले अलग पार्टी दर्ता गर्न जाँदा विगतमा नेपालसँगै रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य, योगेश भट्टराई लगायतका नेताहरु सहभागी भएनन् । उनीहरु न ओलीसँग नै खुलेर लाग्न सके न नेपालतिरै । एमाले एकता भन्दै आएका ती नेताहरु अहिले पनि के गर्ने भन्नेमा अन्योलमै छन् ।

यो धारमा रहेका भनिएका नेताहरु कोही माधव नेपालसँग मिल्नुपर्ने पक्षमा छन् भने कोही ओलीसँगै मिल्नुपर्छ भन्ने मत राख्छन् । योगेश भट्टराई, ठाकुर गैरे लगायतका नेताहरु ओलीसँगै मिल्नुपर्ने पक्षमा छन् भने भीम रावल, घनश्याम भुसाल लगायतका नेताहरु ओलीसँग लुरुक्क परेर जान नहुने पक्षमा छन् ।

त्यस्तै अलमलमा परेका तेस्रो धारका नेताहरुसँग नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका नेता माधव नेपालले सोमबार बिहान फोनवार्ता गरेका छन् । त्यसक्रममा उनले नअल्मलिन र समाजवादीमा समाहित हुन निम्तो दिएका छन् । त्यसक्रममा कतिपयले समाजवादीमै लाग्ने बचन दिएका थिए भने केहीले वारपार भएपछि मात्रै कित्ता क्लियर गर्ने बताएका थिए ।

प्रतिक्रिया