अब विकासका कामलाई गति दिने कोसिस हुने छ : दाहाल

राष्ट्रिय समाचार समिति

चितवन, ९ भाद्र : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत् योजनाअन्तर्गत काम गर्नुपर्ने बताए । भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन)को बुधबार शिलान्यास गर्दै उनले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटौँडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत काम गर्नुपर्ने बताएका हुन् ।

अध्यक्ष दाहालले यी जिल्ला मिलाएर विकासको मोडालिटीमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र बन्ने विश्वास व्यक्त गरे । उनले भने, ‘चितवनका लागि मात्रै नभएर मकवानपुरको हेटौँडासम्म र नवलपुरको दाउन्नेसम्म एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत विस्तारपूर्वक वृहत् योजनामा जानुपर्छ ।’

आफूले यो सपना देखेको भए पनि यसअघिको सरकारले चितवन र मप्रतिको हेर्ने दृष्टिकोण फरक राखेका कारण काम हुन नसकेको उनले बताए । अध्यक्ष दाहालले भने, ‘अब विकासका कामलाई गति दिने कोसिस हुने छ ।’ उनले आफैँले बनाएको प्रधानमन्त्री मप्रति नै सकारात्मक नहुँदा यहाँको विकासमा समस्या आएको उल्लेख गर्दै जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व र विकास हुन्छ भनेर लाग्यो त्यहीमाथि प्रहार र निषेधको खेल भएको बताए ।

नेपालको परम्परागत राज्य व्यवस्था र संरचनाका कारण निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने काम नभएकाले यहाँको विकास निर्माण पछि परेको अध्यक्ष दाहालले बताए । संविधानमा नै सार्वजनिक, निजी र सहकारीको संयोजनमा नेपालको विकासको मोडेल समाजवाद उन्मुख हुने छ भनेर लेखे पनि व्यावहारिक रूपमा त्यस्ता आयोजना अघि बढ्न र निजी क्षेत्रसँग भएको साधन-स्रोत परिचालन गर्नमा राज्य राम्रोसँग अघि आउन नसकेको उनले बताए ।

अध्यक्ष दाहालले भने, ‘अबको समय सामाजिक न्यायसहितको विकासमा लाग्नुपर्छ ।’ सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजा आर्या बिल्डर्स एन्ड इन्जिनियरिङ प्रालीले भरतपुर महानगरपालिका ३ लायन्स चोकमा निर्माण र सञ्चालन हुने गरी सम्झौता भएको छ । सम्झौताको मितिले निर्माणका लागि तीन वर्षसहित ३० वर्षपछि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ ।

मेट्रो प्लाजामा दुई तला अन्डर ग्राउन्ड पार्किङसहित १४ तलाको हुने छ । तीन लाख २५ हजार वर्ग फिट र ५१ मिटर उचाइ रहने यस प्लाजामा पाँच तारे होटलदेखि सिनेमा हल, फुट कोर्टका साथै व्यावसायिक स्थल हुनेछन् । आयोजनाको निर्माण आर्या बिल्डर्सले गर्नेछ भने यसको अनुगमन र नियमन भरतपुर महानगरपालिकाले गर्ने छ । भरतपुर मेट्रो प्लाजा ११ कठ्ठा सात धुर क्षेत्रफलमा निर्माण हुने बताइएको छ ।

प्रतिक्रिया