मकवानपुर, २८ भदाै : नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशले नयाँ सरकार बनाउन गठबन्धनमा आबद्ध दलसँग समन्वय थाल्ने भएको छ ।
पार्टीको आज साेमवार बसेको संसदीय दलको बैठकले समन्वय गर्ने जिम्मा दलका नेता राजेन्द्रप्रसाद पाण्डेलाई दिएको नेकपा संसदीय दलले जनाएको छ ।
आज बसेको बैठकले दलको उपनेतामा प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री कृष्णप्रसाद खनाललाई चयन गरेको छ । खनाललाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्री बनाउनुभएको थियो । उहाँले निर्वाचन आयोगमा एकीकृत समाजवादी रोज्ने भन्दै सनाखत गर्नुभएको थियो भने त्यसको भोलिपल्ट मन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।
आजको बैठकले प्रमुख सचेतकमा मुनु सिग्देल र सचेतकमा बसुन्धरा हुमागाईँलाई सर्वसम्मत रूपमा चयन गरेको नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेशका नवनियुक्त सचेतक हुमागाईँले जानकारी दिनुभयो । संसदीय दलको हिजो आइतवार बसेको पहिलो बैठकले राजेन्द्रप्रसाद पाण्डेलाई दलको नेतामा चयन गरेको थियो ।रासस