माओवादीका कार्यकर्तालाई ओलीको आग्रह : प्रचण्डको पछि लागेर जिन्दगी बर्बाद नगर्नुस्, धोकेबाज हुन् !

admin

काठमाडौं, २९ भदौ : नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई धोकेबाज नेता भएको आरोप लगाएका छन् । मंगलबार गृह जिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बाधेन गर्दै ओलीले प्रचण्डको पछाडि लागेर राजनीतिक जीवन अन्त्य नगर्न माओवादीका नेता कार्यकर्तालाई आग्रह समेत गरेका छन् ।

ओलीले भने, ‘प्रचण्डको पछि लागेर जिन्दगी बर्बाद नगर्न म माओवादी केन्द्रमा अहिलेसम्म अलमलमा पर्नुभएका साथीहरूलाई सहज हुन आग्रह गर्न चाहन्छु, देश बनाउन कसैका छोरी, ज्वाइँ, ससुराका लागि बलिदान नहुनुस् ।,’ एमाले अध्यक्ष ओलीले पार्टीबाट छुट्टिएर गएका माधवकुमार नेपालको पार्टीले चुनावमा पालिकाको वडा सदस्यसमेत नजित्ने ठोकुवा गरे ।

उनले प्रचण्ड सबै हिसाबले राम्रो भए पनि धोकेबाज नेता भएको ओलीले आरोप लगाए । ‘प्रचण्ड राम्रो सम्धी, राम्रो ससुरा, राम्रो ज्वाइँ, राम्रो बाबु, राम्रो काका भए पनि बेइमान नेता हुन् । सबै हिसाबले राम्रो हुनुहुन्छ । एउटामात्र खराबी छ त्यो हो छट्टु नेता, धोकेबाज नेता,’ अध्यक्ष ओलीले भने, ‘प्रचण्ड जीले कुनै एउटा कार्यक्रममा सही कुरा मुखबाट प्वाक्क निकाल्नुभएछ । हामीले त वडामा पनि जित्न हम्मेहम्मे पर्ला जस्तो हुन्छ पो भन्नुभएछ । उहाँले चुनावअघि नै राम्ररी कुरा बुझेको देखेर मलाई खुसी लाग्यो ।’

यस्तै अध्यक्ष ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भएर काम गर्न नसकेका कारण संसद् अवरोध गरिएको पनि बताएका छन् । उक्त कार्यक्रममा अगुवा कार्यकर्ता भेलामा उनले एमालेमाथि षड्यन्त्र गरिएकाले प्रतिनिधि सभामा अवरोध गर्नु आफूहरूको बाध्यता भएको बताए । आफ्नो नेतृत्वमा गठन भएको सरकारका पालामा देशले प्रगति गरेको, व्यापार घाटा घटाएको र निर्यात बढाएको उनको भनाइ थियो ।

आउँदो चुनावदेखि एमाले पुनः सत्तामा फर्किने अध्यक्ष ओलीले बताए । ‘हाम्रो विजय यात्रालाई कसैले रोक्न सक्दैन’, उनले भने । एमालेलाई विभाजनको खासै असर नपरेको स्पष्ट पार्दै उनले भने, ‘पिलो निचोरेर एमालेको वजन घट्दैन, पतकरले कोसीको भेल थुनिँदैन । अध्यक्ष ओली मंगलबार नै पार्टी कार्यकर्तालाई सम्बोधन गर्न काठमाडौंबाट यहाँ आइपुगेका हुन् ।

प्रतिक्रिया