भारतमा ग्राम पञ्चायतको चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि नै नेपाल-भारत सीमा नाका सिल गरिने

admin

काठमाडौं, ३० भदौ : आगामी सेप्टेम्बर २९ बाट भारतको बिहार राज्यको सीमावर्ती क्षेत्रको ग्राम पञ्चायतमा चुनाव हुँदै छ । भारतमा हुन लागेको ग्राम पञ्चायतको चुनावलाई लक्षित गरी नेपाल-भारत सीमा सिल गरिने भएको छ ।

दुई देशको सीमा क्षेत्रको सुरक्षा व्यवस्था सुदृढ गर्ने उद्देश्यले नेपाल-भारत सुरक्षा अधिकारीहरूको संयुक्त बैठकले सीमा सिल गर्ने निर्णय गरेको हो । जनकपुरमा दुई देशका सुरक्षा अधिकारीबीच भएको छलफलले चुनाव हुनुभन्दा ४८ घण्टा अगाडि नेपाल-भारतको सीमा नाका सिल गर्ने निर्णय भएको हो ।

बैठकमा खास गरेर नेपाली सुरक्षा अधिकारीहरूले सीमावर्ती भारतीय क्षेत्रबाट नेपालतर्फ लागूऔषधिको ओसारपोसार बढेको र नेपालमा अपराध गरेर भारतीय क्षेत्रमा अपराधीहरु लुकेर बस्ने गरेको विषयमा भारतीय सुरक्षा अधिकारीहरुलाई ध्यानाकर्षण गराएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।

बैठकमा अवैध सामान ओसार-पोसारमा थप सूरक्षा सतर्कता अपनाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीहरू सकारात्मक रहेको प्रजिअ बास्‍तोलाले बताए । साथै भारतीय पक्षले नेपाली सुरक्षा अधिकारीबाट हुँदै आएको सहयोगको उच्च प्रशंसा समेत गरिएको उनले बताए ।

उक्त बैठकमा धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा भारतका तर्फबाट विहारका दरभंगाका डिभिजनल कमिस्नर डा. मनिष कुमार, मधुबनी जिल्लाका डिएम अमित कुमार, मधुबनीका प्रहरी उपरीक्षक सत्यप्रकाश, एसएसबीका प्रमुख सहितका सुरक्षा अधिकारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया