काठमाडौं, ४ असोज : संसद्ले विनियोजन विधेयक २०७८ पारित भएको छ । एमाले सांसदको अवरोधका बीच सुरु भएको संसद् बैठकमा विनियोजन विधेयक २०७८ पारित भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले ‘विनियोजित विधेयक पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्न अर्थमन्त्री जनार्दन शर्मालाई अनुमति दिएका थिए ।
मन्त्री शर्माले प्रस्ताव पेस गरेपछि बहुमतले यो विधेयक पारित भएको हो । विनियोजन विधेयकमाथिको छलफलको सबै प्रक्रियामा नेमकिपाका सांसद प्रेम सुवाल एक्लैले सहभागिता जनाए । सुवाल एक्लैले खर्च कटौतीको प्रस्ताव राखेका थिए । मन्त्रालयगत छलफलमा पनि सुवाल एक्लैले भाग लिए । सुवालले सोधेका प्रश्नहरुको जवाफ अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिए । अर्थमन्त्रीलाई पुरक प्रश्न सोध्ने पनि सुवाल नै रहे ।
सांसद सुवालले कृषिमा खर्च बढाउनुपर्ने, प्रत्येक युवालाई सैन्य तालिम दिएर देशको रक्षामा लगाउनुपर्ने, एमसीसी जस्ता परियोजनालाई अगाडि बढाउन नहुने बताएका छन् । वाइडबडी जहाज प्रकरण, तारागाउँ विकास समितिमा भएको भनिएको भ्रष्टाचार, आवश्यक औषधि खरिद लगायतका विषयमा अर्थमन्त्रीलाई प्रश्न गरेका थिए ।
प्रतिनिधि सभाबाट विनियोजन विधेयक सोमबार नै राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाले विधेयक पारित गरेर पुनः प्रतिनिधि सभामा पठाउँछ । त्यसलाई स्वीकार गरेर प्रतिनिधि सभाले सभामुखमार्फत राष्ट्रपतिकहाँ पठाएपछि कार्यान्वयनमा आउनेछ । त्यसपछि अहिलेको बजेट होलिडेको अन्त्य हुनेछ । राष्ट्रिय सभाको बैठक (भोलि) मंगलबार बोलाइएको छ ।
नाराबाजीकैबीच सभामुख अग्नि सापकोटाले संसद्को कारबाही अगाडि बढाएका थिए । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु नाराबाजीमा केन्द्रित भएका थिए । सत्तारुढ गठबन्धनका कुनै पनि सांसदले छलफलमा भाग लिएनन् ।