काठमाडौं, ६ असोज : कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्र मन्त्रीको शपथ ग्रहण गरेका छन् । नवनियुक्त परराष्ट्र मन्त्री खड्कालाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, मन्त्री गण, संवैधानिक निकायका उच्च पदाधिकारीलगायत उपस्थित थिए । मन्त्री खड्कालाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी हुन् । मन्त्री खड्काले बुधबार नै मन्त्रालयमा गएर पदभार सम्हाल्ने मन्त्रालयले जनाएको छ ।
यसअघि खड्काले कांग्रेसमा परराष्ट्र विभाग हेर्दै आएका थिए । खड्काले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी सकभर बुधबार बेलुका संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गर्दै अमेरिका जाने तयारी छ । बुधबार नभ्याए (भोलि) बिहीबार बिहान खड्कासहितको टोली अमेरिका जाने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।