काठमाडौं, १५ असोज : काठमाडौं उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक गाडीमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले (आज) शुक्रबार बिहानदेखि लागू हुने गरी यो निर्णय गरेको हो ।
काठमाडौंको उपत्यकाको भीडभाडलाई मध्यनजर गरेर गाडी सञ्चालनमा छुट्टै मापदण्ड बनाएर लागू गरिएको हो । उक्त निर्णयअनुसार स्वीकृत सिट क्षमताअनुसार मात्रै यात्रु राख्न, सबै यात्रुले अनिवार्यरूपमा मास्क लगाउन, मास्क नलगाएका यात्रुलाई गाडी प्रवेशमा रोक लगाउन, चालक सहचालकले अनिवार्यरूपमा मास्क, भाइजर र पञ्जा लगाउन, गाडीको ढोकामा अनिवार्यरूपमा स्यानिटाइजर राख्न, गाडीलाई अनिवार्यरूपमा दैनिक स्यानिटाइज गर्न भनिएको छ ।
शुक्रबारदेखि लागू गरिएको निषेधाज्ञा अर्को आदेश नभएसम्मका लागि लागू हुने जनाइएको छ । कारोना भाइरसको संक्रमण कायमै रहेकाले अनावश्यकरूपमा बाहिर ननिस्किन, भीडभाड, जुलुस, जात्रा, महोत्सव नगर्न भनिएको छ । चाडपर्व स्वास्थ्यका सबै मापदण्ड पालना गरी साङ्केतिकरूपमा मनाउनुपर्ने आदेशमा उल्लेख छ । चाडपर्वका समयमा हुनसक्ने सम्भावित जोखिमबाट बच्न पनि अनुरोध गरिएको छ ।
यस्तै आधिकारिक काउन्टरबाट टिकट काटी यात्रा गर्न र गाडीको छतमा यात्रु नराख्न पनि निर्देशन गरिएको छ । बैठक, गोष्ठी, सेमिनार गर्दा सकेसम्म भर्चुअल माध्यम प्रयोग गर्न र यदि उपस्थित हुनैपरेमा स्वास्थ्यका सबै मापदण्ड पालना गर्न भनिएको छ । सार्वजनिक सेवा प्रदायक संस्थालाई यथासम्भव अनलाइनबाट सेवा प्रवाह गर्न आग्रह गरिएको छ । उपस्थित हुनैपर्ने भएमा स्वास्थ्यका सबै मापदण्ड अपनाउन भनिएको छ ।
होटल पार्टीप्यालेसले पनि कर्मचारीलाई सकेसम्म आफैँ एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन भनिएको छ । सबै व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गरी स्वास्थ्यका सबै मापदण्ड प्रयोग गर्न भनिएको छ । स्थानीय ढुवानी बिहान १ः०० देखि ११ः०० र अपराह्न ४ः०० देखि ७ः०० बजेसम्म नगर्न भनिएको छ भने निर्माण सामग्रीका ढुवानी बिहान १ः०० देखि बिहान ५ः०० बजेसम्म गर्नुपर्ने आदेशमा उल्लेख छ ।