काठमाडौं, १५ असोज : पूर्व युवराज्ञी हिमानी शाहले राष्ट्रलाई कसरी अघि बढाउने भनेर एकपटक गम्भीर भएर सोच्ने बेला आएको बताएकी छन्। शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्ने कार्यक्रममा पूर्व युवराज्ञी शाहले नेपाली भएको नाताले सबैले एकपटक देश विकासका लागि सोच्ने बेला आएको बताएकी हुन्।
उनले आय आर्जनको लागि अब दिगो घरेलु उद्योग सञ्जाल स्थापना गरी युवा र महिलाहरूको गरिबी निवारण गर्नुपर्ने बताइन्। युवा र महिलाहरूलाई गरिबी निवारण गर्नको लागि नयाँ तरिकाको अन्वेषण आवश्यक रहेको भन्दै पूर्व युवराज्ञी शाहले कृषि क्षेत्रमा किसानले सामना गरिरहेका समस्याहरूको समाधान गर्नुपर्ने बताइन्।
उनले नेपालबाट विदेश पलायन भइरहेको प्रतिभालाई रोक्नुपर्नेमा जोड दिइन्। उनले विदेश पलायन भइरहेको प्रतिभालाई रोक्न आफूहरूले नजरअन्दाज गर्न नसक्ने बताइन्। पूर्व युवराज्ञी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताइन्।
उनले मुलुकको सेवा गरे मात्रै मुलुकले हाम्रो लालनपालन गर्ने भन्दै विकसित राष्ट्र निर्माणको लागि प्रयत्नरत गरिरहनुपर्ने बताइन्। उनले भनिन्, ‘नेपाली हुनुको नाताले अब समय आयो सबै एक भएर सोचौँ, मनन् गरौँ कि हामी हाम्रो राष्ट्रलाई कसरी उत्थान गर्न सक्छौँ, आय आर्जनको लागि दिगो घरेलु उद्योगको सञ्जाल स्थापना गरी सो मार्फत् युवा र महिला वर्गको गरिबी निवारणमा टेवा, सेवा प्रदान गर्ने कोषको विविध लक्ष्य मध्येको एक हो।’