बागमतीमा नयाँ सरकार गठनका लागि आह्‍वान

admin

काठमाडौं, कार्तिक १० : बागमती प्रदेशमा नयाँ सरकार गठन (मुख्‍यमन्त्री) का लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई आह्‍वान गरेका छन्।

मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनममा बहुमत प्राप्‍त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि आह्वान गरेका हुन्।

मुख्यमन्त्रीमा दाबी पेश गर्नका लागि शर्माले बिहीबार दिउँसो ३ बजेसम्मको समय दिएका छन्। यसअघि संविधानको धारा १६८ को १ बमोजिम एमालेको एकल बहुमतमा शाक्यको नेतृत्वमा सरकार बनेको थियो।

विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी)का संसदीय दल नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा अगाडि सार्ने निर्णय गरिसकेको छ। बागमतीमा एकीकृत समाजवादी र नेपाली कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पनि भएको छ।

नेपाली कांग्रेस बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुखले सरकार बनाउन आह्‍वान गरेसँगै आजै साँझ पाँच बजे आफूहरू आवश्यक मत संख्यासहित उपस्थित हुने बताएका छन्।

प्रदेश सभामा एमालेका ४३‚ माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३‚ विवेकशील साझा पार्टीका ३‚ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई/दुई तथा जनता समाजवादी पार्टीका १ सांसद् छन्। सरकार बनाउन कम्तीमा ५५ सांसदको समर्थन चाहिन्छ।

प्रतिक्रिया