राजसंस्था पूनःस्थापनाको लागि शाही युवा शक्ति, नेपालले वसन्तपुरमा मार्चपास गर्ने

admin

काठमाडौँ, मंसिर १० : शाही युवा शक्ति नेपालले राजसंस्था र हिन्दूराष्ट्र पूनःस्थापनाको लाग आउने मंसिर १८ गते (शनिबार) दिउँसो १२ बजे मार्चपाससहित वसन्तपुरमा विशाल र्याली गर्ने भएको छ ।

आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलन गर्दै धर्मनिरपेक्षताको खारेजी र राजसंस्थाको पूनःस्थापनाको लागि सो कार्यक्रम गर्न लागेको शाही युवा शक्ति नेपालले जानकारी गराएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पशुपति खड्काले देश प्रधानन्यायाधीशशले प्रधानमन्त्री नियुक्ती गर्ने अवस्थामा गएको भन्दै अहिलेको अवस्थामा देश राणा शासनको चंगुलमा परेको टिप्पणी गरेका थिए ।

उनले नेपाली जनतालाई लोकतन्त्रको नाममा झुक्याएर गणतन्त्रको स्थापना गरिएको भन्दै नेपालको राजतन्त्र नेपाली जनताले नभई विदेशी दलालहरुले फालेको आरोप लगाए ।

अध्यक्ष खड्काले काठमाडौंका नेवार समूदायको विशाल विरोधले गुठी विधेयक फिर्ता भएको स्मरण गर्दै त्यसैगरी पूर्वराजा ज्ञानेन्द्रलाई गद्दीमा फिर्ता ल्याउन सकिने बताएका छन् ।

साथै, उनले शाही युवा शक्ति नेपालले मंसिर १८ गते गर्न लागेको मार्चपासमा विशेषगरि काठमाडौंवासी नेवार समूदायलाई सहभागी भईदिन पनि आग्रह गरे ।

उनले दलहरुको महाधिवेशनमा युवाहरु दलको झण्डा बोकेर हिँड्न थालेकोमा दुःख व्यक्त गरे । उनले अब पार्टीको झण्डा फालेर देशको झण्डा बोक्नपनि देशभरिका युवाहरुलाई आग्रह गरे ।

यस्तै, कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष प्रेम बैदारले देशको अस्तित्व नै समाप्त हुने अवस्था आएको भन्दै राजसंस्था देश र जनताको हितको लागि अपरिहार्य भएको बताउँदै यसको पूनःस्थापनाको लागि आफूहरु सक्रियताका साथ अघि बढेको बताए ।

त्यस्तै, पूर्व सुरक्षाकर्मी परिषद नेपालका प्रवक्ता हेमशंकर गिरीले देशको एक मुठ्ठी माटो छातीमा राखेर सोच्ने बेला आएको भन्दै अब राजसंस्थाको अनिवार्य रुपमा पूनःस्थापना गरिनुपर्ने बताए ।

साथै, उनले सरकारले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई बिर्सिएकोमा दुःख व्यक्त गर्दै अबका दिनमा राष्ट्रिय एकता दिवस नमनाए आफूहरु चुप लागेर नबस्ने बताए । साथै, उनले राष्ट्रिय जनगणनामा हिन्दुको संख्या घटाउने षड्यन्त्र भइरहेको भन्दै हिन्दूहरुलाई सचेत हुन आग्रह गरेका थिए ।

यस्तै, शाही युवा शक्ति नेपालका केन्द्रीय सदस्य रामकुमार बस्नेतले राजसंस्थाको स्थापना र हिन्दुराष्ट्र अखण्ड नेपालको लागि संस्थाले लामो समयदेखि सडक आन्दोलन गरिरहेको भन्दै आफूहरुलाई साथ दिन आग्रह गरेका छन् ।

‘हाम्रो मुद्दालाई ओझेलमा पार्न दलहरुले महाधिवेशन गरिरहेका छन्’–उनले भने । कार्यक्रममा संस्थाका केन्द्रीय सदस्य रेशम मल्ल, श्याम खड्का, कृष्णराज थापालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

उनीहरुले पनि देशमा अब राजसंस्था जतिसक्दो चाँडो ल्याउनुपर्नेमा जोड दिएका थिए । राजाबिनाको देश टुहुरो भएको उनीहरुको भनाई थियो । कार्यक्रमको उद्दघोषण केन्द्रिय सदस्य राजकुमार गीरीले गरेको थिए ।

साथै, संस्थाले मुलुकमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता विदेशी एजेण्डा लादेर प्रमुख शीर्ष नेताहरुले देशलाई अनिर्णयको बन्दी बनाएर आफ्नो स्वार्थ पूरा गर्न लागेको आरोप लगाएको छ ।

 

प्रतिक्रिया