काठमाडौँ, मंसिर १४ : भक्तपुर नेपाली कांग्रेस भक्तपुरको सभापतिमा पुनः दुर्लभ थापा निर्वाचित भएका छन्। वर्तमान सभापति समेत रहेका थापा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षीय संस्थापन पक्षका नेता हुन।
उनले ५५५ मत प्राप्त गरे। उनका प्रतिष्पर्धी अष्टकुमार कवेले ४४२ मत प्राप्त गरे। कवे संस्थापन इत्तर पक्ष नेता प्रकाशमान सिंह निकटका हुन्।
कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनमा पनि थापा र कवेबीच जिल्ला सभापतिका लागि प्रतिष्पर्धा भएको थियो। त्यसबेला पनि थापाले कवेलाई पराजित गरेको थियो।
जिल्ला कार्यसमितिमा पनि थापा समूह नै विजयी भए। उपसभापतिमा थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित भए। अवालले ५५९ र वनले ५१४ मत प्राप्त गरे। सचिवमा सुशिल बस्नेत ५५२ र राजेश खड्का ४८५ मतका साथ निर्वाचित भए। सहसचिवमा यादवप्रसाद अधिकारी र कृष्णमुरारी न्यौपानेले निर्वाचित भए। अधिकारीले ५७४ र न्यौपानेले ५१४ मत प्राप्त गरे।
जिल्ला सदस्यमा थापा समूहबाट मध्यपुर थिमि नगरपालिकाबाट रमिला कपाली, देवेन्द्र श्रेष्ठ र राजेश मानन्धर, सूर्यविनायक नगरपालिकाबाट ललिता धिताल, जिवन श्रेष्ठ, दिपेन्द्रकुमार थापा मगर, भक्तपुर नगरपालिकाबाट रजनी किसिजु, धर्मरत्न खाईतु र रामबहादुर कासुला, चाँगुनारायण नगरपालिकाबाट कल्पना लामिछाने, प्रेम खत्री, समानुपातिका आदीवासी जनजातीबाट रोशनी तामाङ, दिललक्ष्मी कायष्थ, रामेश्वर ध्वजुँ, धनबहादुर थिङ र रामप्रसाद धौवञ्जार, समानुपातिक खसआर्यबाट सिर्जना केसी, देवेन्द्र न्यौपाने, अच्युत अधिकारी, दलित खुल्लाबाट मनिता नेपाली, अपाङ्गबाट शशि बस्नेत र मधेशीबाट राम दिनेशलाल कर्ण निर्वाचित भए।
जिल्ला सदस्यमा चाँगुनारायण नगरपालिकाबाट कवे समूहका उमेशकुमार खड्का निर्वाचित भए। त्यस्तै प्रतिनिधिसभा क्षेत्र नं. २ को कार्यसमिति सदस्यमा कवे समूहका विरबहादुर विश्वकर्मा निर्वाचित भए।
भक्तपुर क्षेत्र नं. २ को आदाीवासी जनजाती महिलातर्फको महाधिवेशन प्रतिनिधिमा कवे समूहका निलकमल ध्वजु र पञ्चमाया प्रजापति निर्वाचित भए। गत साता सम्पन्न क्षेत्रीय अधिवेशनका क्रममा मतपत्रमा प्राविधिक त्रुटी भेटिएपछि यो समूहको महाधिवेशन प्रतिनिधिको निर्वाचन स्थगित गरी पुनः जिल्ला अधिवेशनका दौरान निर्वाचन गरिएको हो।
भक्तपुर क्षेत्र नं. २ को महासमिति सदस्यमा भने मिश्रित परिणाम आएको छ। महासमिति सदस्य खुल्लामा थापा समूहका मदनकृष्ण श्रेष्ठ र विष्णुराज कार्की निर्वाचित भए भने कवे समूहका गणेशमान चक्रधर, उद्धव सिलवाल र सन्तोष भट्टराई निर्वाचित भए।
त्यसैगरी महिला खुल्लामा अञ्जनादेवी मधिकर्मी, प्रमिला सुवेदी आचार्य, आदीवासी जनजाती खुल्लामा ज्ञानदास प्रजापति, खसआर्य खुल्लामा लछुराम न्यौपाने विजयी भए। उनीहरु सबै कवे समूहका हुन।
भक्तपुर क्षेत्र नं. १ को महासमिति सदस्यहरु भने निर्विरोध निर्वाचित भएका थिए। महासमिति सदस्यमा प्रत्यक्ष खुल्लामा बाबुराजा जोशी, कृष्णलाल भँडेल, जगन्नाथ कार्की, राजाराम खड्का र पुष्कर खत्री, आदीवासी जनजाती खुल्लामा सुरेश श्रेष्ठ र रजनी जोन्छें, महिलामा राधा कार्की (सरु बाँनिया) सुभद्रा काफ्ले, आदीवासी जनजाती महिलामा गंगालक्ष्मी अवाल, खसआर्य खुल्लामा हरिप्रसाद नेपाल निर्विरोध निर्वाचित भएका थिए।