भोलिदेखि एमआरपी वितरण बन्द, यस्तो छ ई-पासपोर्टको लागि राष्ट्रिय परिचयपत्र र आवेदन दिने तरिका

admin

काठमाडौं, २७ मंसिर : काठमाडौं उपत्यकाका तीन वटै जिल्लाबाट विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट वितरण सुरु भएको छ । काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट पनि छिटै वितरण सुरु हुने राहदानी विभागले जनाएको छ ।

विभागका महानिर्देशक डोरनाथ अर्यालले पूर्व–पश्चिम राजमार्गसँग जोडिएका जिल्लाबाट केही दिनभित्रै ई-पासपोर्ट वितरण सुरु हुने जानकारी दिए ।  त्यसपछि क्रमशः सबै जिल्लाबाट ई-पासपोर्ट वितरण सुरु हुने उनको भनाइ छ ।

विभागले मंसिर १ गतेदेखि काठमाडौंबाट ई-पासपोर्ट वितरण सुरु गरेको हो । अहिलेसम्म मेसिन रिडेबल पासपोर्ट अर्थात एमआरपी र ई–पासपोर्ट दुवै वितरण हुँदै आएकोमा (भोलि) मंगलबारदेखि एमआरपी वितरण बन्द हुने भएको छ ।

अब ई-पासपोर्टको मात्रै काम हुने हुँदा अहिलेसम्म देखिएका झण्झट अन्त्य हुने महानिर्देशक अर्यालको भनाइ छ । ई-पासपोर्टको लागि आवेदन दिँदा अनलाइन प्रणालीमा समस्या हुने लगायतका झण्झट देखिएको सेवाग्राहीको गुनासो छ । अब यस्तो गुनासोको अन्त्य हुने र सजिलै ई-पासपोर्ट लिन सकिने अर्यालले दाबी गरे ।

ई-पासपोर्ट बनाउनेले राष्ट्रिय परिचयपत्र वा त्यसको भेरिफाइड नम्बर अनिवार्य भर्नुपर्नेछ । जिल्ला प्रशासन कार्यालयहरुबाट तत्कालै राष्ट्रिय परिचयपत्र नपाए पनि जिल्ला प्रशासन कार्यालयमा आवेदन भरेपछि पाइने परिचयपत्र नम्बर पासपोर्टमा अनिवार्य गरिएको छ ।

हातले लेख्ने पासपोर्ट हुँदै मेसिनले पढ्ने र अहिले ई-पासपोर्ट आएको हो । चिप्स र विद्युतीय बारकोडसहितको ई–पासपोर्टलाई सुरक्षित र भरपर्दो मानिन्छ ।

ई-पासपोर्ट बनाउन अनिवार्य चाहिने राष्ट्रिय परिचयपत्र
राष्ट्रिय परिचयपत्र आफ्नो जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा बनाउन सकिन्छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयमा नै निवेदन दिन सकिन्छ । पासपोर्ट बनाउनका लागि जिल्ला प्रशासन कार्यालय जाँदा राष्ट्रिय परिचयपत्रका लागि पनि निवेदन दिन सकिन्छ ।

निवेदन दिएपछि राष्ट्रिय परिचय पत्र नम्बर तत्काल पाइन्छ । राष्ट्रिय परिचयपत्रको कार्ड बन्न समय लागे पनि नम्बर भने जिल्ला प्रशासन कार्यालयबाट निवेदन दिएकै बेलामा लिन सकिन्छ । लामो समयका लागि वैदेशिक रोजगारीमा जाने हो भने राष्ट्रिय परिचयपत्र नै लिँदा राम्रो हुन्छ ।

तर तत्कालै गइहाल्ने हो भने नम्बर मात्र पाइने भएकाले समस्या हुँदैन । १६ वर्ष माथिका र नेपालमा निवेदन दिनेहरूको हकमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको राहदानी विभागले जनाएको छ । विदेशबाट निवेदन दिने र १६ वर्षभन्दा कम उमेरका आवेदकहरूको लागि भने राष्ट्रिय परिचय पत्र नभए पनि हुन्छ ।

राष्ट्रिय परिचयपत्र बनाउनका लागि नागरिकताको सक्कल प्रति र विवाहित व्यक्तिको हकमा भने विवाह दर्ताको प्रमाणपत्र पनि आवश्यक पर्छ । परिचयपत्र लिन दर्ताका लागि भने व्यक्ति आफैं जानुपर्छ ।

विद्युतीय राहदानीको लागि आवेदन दिने तरिका
राहदानी विभागको वेबसाइटको विद्युतीय राहदानीको लागि निवेदन भन्ने बटम थिची प्रि(इनरोलमेन्ट पोर्टलमार्फत फाराम भरी तोकिएका सक्कल कागजात अपलोड गर्नु पर्दछ । आफूले बुक गरेको मिति र समयमा त्रिपुरेश्वरस्थित राहदानी विभाग वा तोकिएका जिल्ला प्रशासन कार्यालयहरू र विदेशस्थित नियोगमा जानु पर्दछ ।

मिति र समय बुक नगरी गएमा विभागले निवेदन लिँदैन । फाराम भर्दा जन्म मिति, नाम आदि विवरणमा कुनै गल्ती नगर्न विभागले अनुरोध गरेको छ । आफूले गलत विवरण राखेर फाराम भरेमा र राहदानी पुनः बनाउँदा दस्तुर पुनः लाग्छ ।

विद्युतीय राहदानीमा विद्युतीय चिप र एन्टेनासमेत जडान गरिएको हुन्छ । तर यो आँखाले सहजै देख्न सकिँदैन । चिपमा औँठाछाप, तस्बिर लगायतका व्यक्तिगत विवरणहरू पनि हुन्छन् । यी विवरणहरू राखेर चिप लक गरिसकेपछि कसैले थपघट वा फेरबदल गर्न सक्दैनन् ।

ICAO PKD मार्फत सूचनाहरू रुजु हुने हुँदा विभिन्न देशका अध्यागमन कार्यालयहरूमा सहज र छिटो हुनेछ । विद्युतीय गेटहरू भएका ठाउँमा स्वतः खुल्ने व्यवस्था समेत गरिएको हुन्छ । विभागका अनुसार यो तेस्रो पुस्ताको अत्यन्त सुरक्षित र भरपर्दो राहदानी हो । साधारण राहदानीको रङ्ग चकलेटी खैरो हुन्छ । साधारण राहदानी ३४ पेज र ६६ पेज गरी दुई प्रकारका जारी हुन्छ ।

प्रतिक्रिया