काठमाडौं, २८ मंसिर : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । सभापतिको दोस्रो चरणको मतदानमा निधिले देउवालाई सहयोग गर्ने बताएका हुन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई आगामी एक कार्यकालका लागि पार्टीका नेता विमलेन्द्र निधिले पनि समर्थन भएका हुन् । पहिलो चरणमा निधि पनि सभापति पदका उम्मेदवार थिए । पहिलो चरणमा देउवाले सबैभन्दा बढी मत ल्याए पनि ५० प्रतिशत मत कटाउन भने सकेनन् ।
दोस्रो धेरै मत सभापति पदका उम्मेदवार शेखर कोइरालाले ल्याएका थिए । सभापतिमा फेरि निर्वाचन हुने भएपछि देउवाले सभापतिका उम्मेदवार भई पराजित भएका प्रकाशमान सिंह र निधिलाई मंगलबार भेटेर कुराकानी गरेका थिए । सिंहले देउवालाई समर्थन गर्ने बताएका थिए ।
लगत्तै निधि निवास पुगेका देउवालाई पनि निधिले सभापतिमा समर्थन गर्ने बताएका छन् । दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । दोस्रो चरणको मतदान दिउँसो साढे ३ बजेदेखि बेलुका साढे सात बजेसम्म राष्ट्रिय सभा गृह र भृकुटीमण्डपमा तोकिएको मतदान केन्द्रमा हुनेछ ।