काठमाडौं, १ पुस : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि भएको चुनावमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । (आज) बिहीबार भएको मतगणनामा गगनकुमार थापाले तीन हजार २३ मत र विश्वप्रकाश शर्माले एक हजार नौ सय ८४ मत प्राप्त गरेका हुन् ।
गत आइतबार सम्पन्न कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा र शर्मा विजयी भएका हुन् । परिणाम कांग्रेसको निर्वाचन समितिले घोषणागर्न बाँकी रहेको छ । महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल, डा. शेखर कोइराला समूहबाट डा।मिनेन्द्र रिजाल र गगन थापा, प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्मा तथा विमलेन्द्र निधिको समूहबाट डा. राजाराम कार्की उम्मेदवार थिए ।
महामन्त्रीका ६ जना उम्मेदवारबाट दुई जना महामन्त्रीमा चयन भएका हुन् । सभापतिमा देउवा निर्वाचित भइसकेका छन् भने उपसभापतिमा देउवा समूहका पूर्णबहादुर खड्का र कोइराला समूहका धनराज गुरुङ निर्वाचित भएका छन् । महामन्त्रीपछि सह-महामन्त्री र त्यसपछि केन्द्रीय सदस्यको मतगणना गर्ने पार्टीको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।