राजनीतिक छलाङ : को हुन् कांग्रेस महामन्त्रीमा विजयी भएका गगन थापा र विश्वप्रकाश शर्मा ?

admin

काठमाडौं, १ पुस : नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । बिहीबार सकिएको मतगणनाबाट प्रतिस्पर्धी ६ जनामध्येबाट बढी मत पाउँदै थापा र शर्मा विजयी भएका हुन् ।

कांग्रेसमा यही महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था गरिएको हो । गगन थापा शेखर कोइराला र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार बनेका थिए । दुवै नेता विद्यार्थी राजनीतिबाट उदाएका हुन् । थापा र शर्माले कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको प्रारम्भ भएको बताएका छन् ।

गगन थापा कांग्रेस केन्द्रीय सदस्य थिए । उनी १३औं महाधिवेशनमा डा. शशांक कोइरालासँग महामन्त्रीमा पराजित भएका थिए । त्यति वेला एउटा मात्रै महामन्त्री निर्वाचित हुने व्यवस्था थियो । त्यस्तै, शर्मा यसअघि कांग्रेस प्रवक्ता थिए । उनी देउवा समूहबाट उम्मेदवार बन्न नपाएपछि सिंह समूहमा गएर महामन्त्रीको उम्मेदवार बनेका थिए ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को राजनीतिबाट उदाएका गगनकुमार थापा पार्टीको महामन्त्री पदमा निर्वाचित भएका हुन् । यसअघि विश्वप्रकाश महामन्त्री बनेकै कार्यकालमा गगन त्रिचन्द्र कलेजमा स्ववियू सभापतिमा निर्वाचित भएका थिए ।

थापाले तत्कालीन राजाको निरंकुश कदमविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनको अगुवाइ गरेका थिए । यता विद्यार्थी जीवनबाट नै राजनीतिमा होमिएका विश्वप्रकाश शर्मा नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री बन्न सफल भएका छन् । शर्मा प्रखर वक्ताका रुपमा चिनिन्छन् ।

गगन थापाको राजनीतिक यात्रा
२०४६ सालको जनआन्दोलनमा सक्रिय गगन थापाको राजनीतिक यात्रा भने क्याम्पस पढ्न थालेपछि सुरु भयो । त्रिचन्द्र क्याम्पसमा पढ्न थालेपछि उनी कांग्रेस निकट नेपाली विद्यार्थी संगठनमा लागे । नेविसंघको सदस्य भएसँगै २०५१ सालमा उनी त्रिचन्द्र स्वतन्त्र विद्यार्थी युनियनको सदस्यमा निर्वाचित भए । त्रिचन्द्र स्ववियुमा सदस्यसचिव हुँदै उनी सभापति बने ।

२०५५ सालमा स्ववियु सभापति भएपछि नेविसंघको केन्द्रीय राजनीतिमा उनको सहभागिता रह्यो । उनी नेविसंघको महामन्त्री बने । थापाले २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री भएर काम गरे । २०६४ को चुनावपछि समानुपातिक सभासद बनेका थापा दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौं-४ बाट निर्वाचित भए ।

दोस्रो संविधानसभामा कृषि तथा जलस्रोत समितिको सभापति बनेका थापा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दोस्रो पटक प्रधानमन्त्री हुँदा स्वास्थ्यमन्त्री बनेका थिए । संसद र सरकारमा उनको उपस्थिति उपलब्धिमूलक र चर्चाको विषय बनिरह्यो । ०७४ को चुनावमा देशभर बाम गठबन्धन (एमाले-माओवादी)को लहरले पनि थापाको संसद यात्रामा ब्रेक लाउन सकेन ।

उनी काठमाडौं–४ बाट निर्वाचित भए । उनी कांग्रेसको १२ औं महाधिवेशनमा सबैभन्दा बढी भोट प्राप्त गरी केन्द्रीय सदस्य बन्न सफल भएका थिए । गगन १३औँ महाधिवेशनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए । महामन्त्रीमा पराजित भए पनि थापाले सम्मानजनक मत प्राप्त गरेका थिए । यसपटक भने उनी कोइराला परिवारको लिगेसीसँग आफूलाई जोडेर महाधिवेशनको मैदानमा उत्रिएका हुन् ।

विश्वप्रकाश शर्माको राजनीतिक यात्रा
२०२७ पुस ६ मा झापाको शान्तिनगरमा जन्मिएका विश्वप्रकाश शर्मा २०३७ सालमा झापामा विद्यालय तहमा पढ्दादेखि नै राजनीतिमा लागेका थिए । २०४० सालमा धुलाबारी मावि झापाको नेविसंघ इकाई सभापतिको रुपमा राजनीतिमा प्रवेश गरेका शर्मा २०४१ सालमा ९ कक्षामा पढ्दा प्रथम पटक प्रहरी गिरफ्तारीमा परेका थिए ।

२०४७ सालमा नेविसंघ झापाको जिल्ला सभापति भएका उनी २०४८ सालमा नेवि संघ केन्द्रीय सदस्य बने । २०५३ सालमा नेविसंघ महामन्त्री बनेका शर्मा २०५३ नेवि संघ केन्द्रीय उपसभापति भए । २०५७ सालमा उनी नेविसंघको केन्द्रीय सभापति बने भने २०५७ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए । १२औं महाधिवेशनमा उनी झापा जिल्ला सभापतिमा पराजित भए ।

२०७२ सालमा भएको १३ औं महाधिवेशनबाट उनी कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भए । शर्मा २०७४ सालमा नेपाली कांग्रेस पार्टी प्रवक्ताको जिम्मेवारी पाएका थिए भने २०७६ सालमा नेकाको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख बने ।

प्रवक्ता भएर शर्माले उदाहरणीय कम गर्न सफल भएका थिए । शर्माको संसदीय राजीनिति भने विर्सन लायक छ । उनी २०७० र ७४ माम भएको आम चुनावमा झापामाम पराजित भएका थिए । त्रिभुवन विश्वविद्यालयबाट समाजशासत्रमा स्नातकोत्तर गरेका शर्मा राजनीतिसँगै समाजिक विषयको गहिरो अध्ययन राख्ने गर्दछन् ।

प्रतिक्रिया