क्यानका अध्यक्षलाई प्रधानमन्त्री देउवाको फोन : खेलाडीको कारवाही के हो ? मिलाउनुस् है !

admin

काठमाडौं, २ पुस : प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिकेट खेलाडीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले गरेको कारवाहीका विषयमा चासो राख्दै सोधखोज गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री देउवाले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दलाई फोन गरेर खेलाडीलाई कारवाही गरेको विषय के हो ? भनेर प्रश्न गरेका थिए । ‘क्यानमा के गरेको हो यो ? प्रचण्डजीले पनि यसमा चासो राख्नुभएको छ, मिलाउनुस् है’, प्रधानमन्त्री देउवाले अध्यक्ष चन्दलाई फोनमा भनेका थिए ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पनि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच क्यानले गरेको कारवाहीबारे छलफल भएको पुष्टि गरेको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई पदमुक्त गरेको थियो ।

क्यानले अनुशासनसम्बन्धी आचारसंहिता उल्लङ्घनको आरोपमा मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई सन् २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा सुरूको ६ महिना सहभागिता नगराउने निर्णय समेत गरेको थियो । मल्लको पदमुक्तपछि क्यानले राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा युवा लेग स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको थियो ।

प्रतिक्रिया