काठमाडौं, ५ पुस : पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले संसद्म पाँच दलीय गठबन्धनको बहुमत रहुन्जेल प्रधानमन्त्री शेरबहादुर देउवालाई कसैबाट खतरा नरहेको बताएका छन् ।
नेता खनालले एमसीसीलाई लिएर गठबन्धनमा मतभिन्नता भएकाले यथास्थितिमा पारित गर्नु नहुने पनि बताए । (हिजो) आइतबार नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’ मा विशेष कुराकानी गर्दै नेता खनालले भने, “एमसीसी पास नगर्दैमा देउवालाई कुनै खतरा छैन । पाँच दलीय गठबन्धनसँग बहुमत छँदै छ नि । उनलाई मनको बाघले खायो होला । वनको बाघले खान सक्दैन ।”
उनले थपे, “गठबन्धनमा मतैक्यता नभएका विषयलाई थाती राख्नुपर्छ । एमसीसी लगायत विवादास्पद विषयलाई अघि बढाउन खोज्दा गठबन्धन विरोधीलाई फाइदा पुग्छ ।” यस्तै प्रधानमन्त्री देउवाले शक्तिराष्ट्रको दबाब र प्रभावमा काम गर्न नहुनेमा पनि जोड दिए ।
उनले भने, “देशको सार्वभौम सत्ताभन्दा ट्रान्समिसन लाइन र सडक ठूलो हुन्छ ? यस विषयमा म आठ घण्टा बहस गर्न तयार छु । संसद् खुल्यो भने एमसीसीबारे मैले चार घण्टा बोल्न पाउनुपर्छ ।” संसद्लाई बन्धक बनाएर केपी ओली पागल प्रलाप गरिरहेको आरोप पनि उनले लगाए ।
उनले भने, “सर्वदलीय बैठकमा नजाने, संसद् अवरोध गर्ने केपी ओली हाम्राविरुद्ध अनर्गल पागल प्रलाप गरिरहेका छन् । पार्टीलाई पुँजीवाद पन्थी र दक्षिणपन्थी आहालमा डुबाएका छन् । सिंगो एमालेलाई पागल बाटोमा हिँडाएका छन् ।”