काठमाडौं, ५ पुस : दलले निष्कासन गरेका सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै नेकपा एमालेले प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुवै बैठक अवरोध गर्दै आएको छ । यस्तै (आज) सोमबार पनि एमालेका सांसदको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
सोमबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरु उठेर विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले एमालेका सांसदलाई बैठक सञ्चालनको लागि सहयोग गर्न पटक-पटक आग्रह गरे पनि उनीहरुले उठेर विरोध गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाले आफ्ना विरोधहरु राखेरै पनि सभा सञ्चालन गर्न सकिने र लामो समयदेखि सदनमा अवरोध गर्दा कयौँ महत्त्वपूर्ण काममा बाधा पुगेको बताएका थिए । उक्त बैठकमा एमालेका सांसद देवेन्द्र दाहालले आफूहरुले उठाएका मुद्दा सम्बोधनको लागि सत्तापक्षले कुनै गम्भीरता नदेखाएको भन्दै आक्रोस पोखेका थिए ।
नेकपा एमालेले गत भदौ २३ यता लगातार संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई पटकसम्म बोलाएको सर्वदलीय बैठकमा पनि एमाले अनुपस्थित भएको छ ।