काठमाडौं, ७ पुस : नेकपा (माओवादी केन्द्र)ले पुस ११ देखि १३ गतेसम्म हुने प्रथम राष्ट्रिय सम्मेलनको तयारी तीव्र पारेको जनाएको छ ।
राष्ट्रिय सम्मेलनका बिषयमा जानकारी दिन बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सममेलन गर्दै माओवादीले राष्ट्रिय सम्मेलनमा १ हजार ५ सय ३३ प्रतिनिधि हुने जानकारी समेत गराएको छ ।
पत्रकार सम्मेलनमा माओवादी प्रवक्ता कृष्ण बहादुर महराले सम्मेलनका लागि भक्तपुर, ललितपुर र काठमाडौंका प्रवेशद्वारमा स्वागतद्वार राखिने र मुख्य ठाउँहरुमा सम्मेनलबारे पोष्टर राखिने जानकारी दिनुभयो ।
उहाले माओवादीको महाधिवेशन नभएर सम्मेलनमात्र भएका कारण कुनै देशभित्र र बाहिरबाट कुनै अतिथीलाई आमन्त्रण नगरिने उहाले बताउनुभयो ।
उहाले सम्मेलनका लागि राजनीतिक बैचारिक तयारीका लागि अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रतिवेदन लेखिरहेको जानकारी दिनुभयो ।
नयाँ क्रान्तिकारी बिचार निर्माण र नयाँ क्रान्तिकारी पार्टी निर्माण गर्नका लागि सम्मेलन केन्द्रीत हुने महराले बताउनुभयो ।
त्यस्तै प्रवक्ता महराले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभयो । परिमार्जन नगरी राष्ट्रिय सहमतिविना एमसीसी अघि बढ्न नसक्ने उहाको भनाई छ ।