अर्को हप्ता हिउँदे वर्षा, यस वर्ष औसतभन्दा कम वर्षा हुने प्रक्षेपण

admin

काठमाडौं, ८ पुस : हिउँदे वर्षासँगै आउँदो सोमबार मंगलबारदेखि बादल लाग्ने अनुमान गरिएको छ । हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रका केही ठाउँमा अर्को हप्ता पानी पर्ने सम्भावना रहेको मौसविद्ले बताएका छन् ।

यस विषयमा मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर जानकारी गराउने तयारी गरेको छ । पानी परे पछि देशभर चिसो अझ बढ्ने छ । मौसमविद् वरुण पौडेलकाअनुसार पश्चिमी वायुले ल्याएको पश्चिमी न्यूनचापीय प्रणालीका कारण आउँदो हप्ता हिमपात र वर्षाको सम्भावना छ ।

लगातार झरी नपरे पनि पहाडी क्षेत्रका केही ठाउँमा पानी पर्ने तथा हिमाली जिल्लामा हिमपात हुने उनले बताए । यस्तै यो प्रणालीका कारण पानी नपरेका ठाउँमा बादल लाग्ने मौसमविद् पौडेलले जानकारी दिए । यस्तै, यस वर्ष औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले धेरैजसो क्षेत्रमा यो वर्ष हिउँदे वर्षा सरदरभन्दा कम हुने आकलन गरेको हो  । यसले गर्दा वायु प्रदूषण बढ्न सक्ने अनुमान गरिएको छ । कम पानी पर्दा हिउँदे कृषि बालीमा समेत असर पर्न सक्छ । विभागका अनुसार नेपालमा हिउँदमा सरदर ६१ मिलिमिटर वर्षा हुन्छ ।

सबैभन्दा बढी वर्षा मनसुनमा हुन्छ । मनसुनमा नेपालमा सरदर एक हजार ४ सय १२ दशमलव ७ मिलिमिटर वर्षा हुन्छ । यसपालि मनसुनमा सरदर भन्दा धेरै पानी पर्दा बाढी पहिरोको जोखिम बढेको थियो । यस्तै, (आज) बिहीबार देशका धेरै ठाउँमा घाम लाग्ने मौसमविद्ले बताएका छन् । बिहीबार देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको हो ।

प्रतिक्रिया