मैले नबोलेको कुरा ‘भिडियो एनिमेसन’ गरियो : मुख्यमन्त्री पाण्डे

admin

वाग्मती, ८ पुस : वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आफूले नबोलेको कुरा ‘भिडियो एनिमेसन’ मार्फत सम्पादन गरेर भ्रम फैलाउन प्रसारण गरिएको बताउनुभएको छ ।

आज प्रदेशसभामा बोल्दै मुख्यमन्त्री पाण्डेले आफ्नो दलको कमिटी विस्तार नहुने वडामा बजेट विनियोजन नगर्ने भनेर आफूले कतै नभनेको बताउनुभयो ।

एमाले प्रदेशसभा सदस्यको अनुपस्थितिमा आज बसेको दोस्रो बैठकमा मुख्यमन्त्री पाण्डेले सामाजिक सञ्जालमार्फत भए पनि आफ्नो जवाफ सुन्न एमालेका नेतालाई आग्रह गर्नुभयो ।

प्रदेशसभाको हिजोको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का नेता तथा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै मुख्यमन्त्रीले जवाफ दिनुपर्ने माग गर्नुभएको थियो भने आज बिहान बसेको अर्को बैठकमा पूर्वमन्त्री केशवराज पाण्डेले आफूले राखेको माग पूरा नभएको भन्दै संसद् सञ्चालन गर्नुअघि एमालेले राखेको प्रश्नको जवाफ दिनुपर्ने माग गर्नुभएको थियो ।

लगत्तै सभामुख सानुकुमार श्रेष्ठले अनिश्चितकालका लागि स्थगित गर्नुभएको बैठक चार घण्टापछि पुनःबसेको थियो । बैठक अनिश्चितकालका लागि स्थगित भएको सूचनासँगै आफ्ना प्रदेशसभा सदस्य राजधानी हेटौँडा बाहिरिसकेको भन्दै एमालेका कुनै पनि सदस्य बैठकमा उपस्थित भएका थिएनन् ।

हिजोको बैठकमा पूर्वमुख्यमन्त्री पौडेलले नवगठित प्रदेश सरकारले प्रदेशवासी हौँ भन्न पनि लाज हुने गरी प्रदेशको बदनाम गरेको बताउनुभएको थियो । पौडेलले मुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता स्वार्थको निमित्त जनतामाथि आघात पु¥याउने गरी सात मन्त्रालयलाई १४ वटामा वृद्धि गरेको, मुख्यमन्त्री स्वयंले सार्वजनिक समारोहमा आफ्नो पार्टीको सङ्गठन विस्तार नभएको स्थानमा सरकारले बजेट विनियोजनलगायत नगर्ने बताएको आरोप लगाउनुभएको थियो ।

प्रतिक्रिया