काठमाडौं, ९ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन अस्वीकार गरेका छन् । बिहीबार राप्रपा दाङले तुलसीपुरमा आयोजना गरेको सभालाई सम्बोधन गर्न पुगेका लिङ्देनले २५ किलोको माला लगाउन अस्वीकार गरेका हुन् ।
बिपी चोक अगाडिको मञ्चमा उपस्थित राप्रपाका उपाध्यक्ष ध्रुव प्रधान, महामन्त्री धवलशम्शेर जबरा, लुम्बिनी प्रदेशका अध्यक्ष सुदीप उदय, पूर्वमन्त्री प्रेम भण्डारी लगायतका नेताहरुको स्वागतका लागि कपिलवस्तुबाट माला ल्याइएको थियो । सयपत्री फूलको २५ किलोको मालाहरू मञ्चतिर उकाल्दै गर्दा लिङ्देनले अस्वीकार गरेका थिए । उनले छोएजस्तो गरि नजिकैको टेबुलमा राख्न इशारा मात्रै गरे ।
त्यहाँ उनले एउटा खादा मात्र लगाएका थिए भने केही बेरपछि उक्त खादा पनि निकालेका थिए । अध्यक्षले नै माला लगाउन नमानेपछि मञ्चमा रहेका अरू नेताले पनि लगाएको माला निकालेका थिए । लिङ्देनलाई किन माला नलगाउनुभएको ? भन्ने प्रश्नमा उनले भने, ‘मैले काम नै के गरेको छु र यो सुन्दर फूलको माला लगाउनलाई । म यो माला लगाउन लायक अझै भइसकेको छैन ।’