काठमाडौं, १६ पुस : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच (आज) शुक्रबार भेटवार्ता भएको छ । अध्यक्ष लिङ्देन महामन्त्री डा. धवलशमशेर राणा समेतलाई साथमा लिएर मिश्रलाई भेट्न उनकै निवासमा पुगेका हुन् ।
सोही क्रममा आपसी सहकार्यका साथै पार्टी एकताबारे समेत सामान्य छलफल भएको बताइएको छ । मिश्रसँगको भेटपछि महामन्त्री डा. राणाले समान विचारधारा भएका पार्टी तथा संघसंस्थासँग मिलेर जाने पार्टीको नीतिअनुरुप नै मिश्रसँग भेटवार्ता भएको बताए ।
स्रोतका अनुसार भेटका क्रममा लिङ्देनले एजेण्डा उस्तै-उस्तै भएकाले पार्टी एकता गरेर अघि बढ्न प्रस्ताव गरेका थिए । अहिले एकताका लागि छलफल प्रारम्भ भएकाले र आगामी दिनमा थप छलफल गरेर अघि बढ्ने विषयमा दुबै नेता सहमत भएका छन् ।
मिश्रले लिङ्देन र राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भएको प्रतिक्रिया दिएका छन् । पछिल्लो समय मिश्र राजसंस्थाप्रति उदार देखिँदै आएका छन् । उनले संघीयताको विरोध गर्दै आएका छन् ।
एकता महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएपछि लिङ्देनले राप्रपाको पहिलो बैठकमै समान विचार भएका शक्तिहरूसँग एकता गर्न राणाको संयोजकत्वमा वार्ता समिति गठन गरेका थिए । यस्तै पछिल्लो समय मिश्रले संघीयता खारेज गर्नु पर्ने र धर्मनिरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
उनको त्यही प्रस्तावले विवेकशील साझा पार्टीमा चरम विवाद उत्पन्न भएको छ। संयोजक मिलन पाण्डेलाई मिश्र पक्षले पार्टीको साधारण सदस्यबाट निकालेको छ भने बागमती प्रदेशकी संयोजक रञ्जु दर्शनाले विवेकशील साझा छोडेकी छिन् ।
शुक्रबारको उक्त भेटपछि मिश्रले पनि ‘बिहानी पाहुनासँग ‘राजनीतिसँगै राजकाज’ संवाद’ भेटेर सामाजिक सञ्जालमा तस्बिर शेयर गरेका छन् । ‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुबैप्रति आभारी छु’, उनले भनेका छन् ।
रवीन्द्र मिश्रले केही महिनाअघि मात्रै ‘विचारभन्दा माथि देश’ नामको दस्ताबेज बाहिर ल्याएका थिए । त्यसमा उनी गणतन्त्र र संघीयता विरुद्ध उभिएका छन् भने राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले पनि गणतन्त्रको विरोध गर्दै राजतन्त्रको एजेण्डा बोक्दै आएको छ । दुबै दल एजेण्डाको हिसाबले एक ठाउँमा रहेका सन्दर्भमा शुक्रबार भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।