काठमाडौं, १६ पुस : नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् ।
(आज) शुक्रबार प्रधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र शुक्रबारदेखि यो समस्या समाधान हुने बताएका हुन् । घिसिङले विद्युत आपूर्ति नपुगेर बत्ती जाने समस्या नभएको स्पष्ट पार्दै जति माग आए पनि आपूर्ति गर्ने स्थितिमा रहेको बताए ।
उनले काठमाडौं उपत्यकामा अब नौ वटा सबस्टेशन थपिने भएकाले ती सबस्टेशन बनिसकेपछि दीर्घकालीन रूपमा उपत्यकामा दुई हजार मेगावाटको विद्युत् आपूर्ति गर्न सक्ने बताए । प्रमुख कार्यकारी निर्देशक घिसिङले केही ट्रान्सफर्मर लोडअनुसार फेरिरहेको र केही फिडरमा आगलागी भएका कारणले यी समस्या आइरहेको बताए ।
प्रमुख कार्यकारी निर्देशक घिसिङले आजसम्म उपत्यकामा ट्रान्सफर्मरहरू परिवर्तन गरिसक्ने भएकाले बिजुली जाने समस्या नहुने बताए । उनले केही स्थानमा त्यहाँका बासिन्दाले सबस्टेशन बनाउन नदिएकाले पनि समस्या आउने गरेको भन्दै सबस्टेशन बनाउन दिन स्थानीयवासीलाई आग्रह गरे ।