कांग्रेसका थप यी तीन नेता केन्द्रीय सदस्यमा मनोनीत

admin

काठमाडौं, १८ पुस : नेपाली कांग्रेसका थप तीन नेता केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई (आज) आइतबार केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् ।

‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम जीवनबहादुर शाही, प्रदीप पौडेल र कल्याणकुमार गुरुङलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ’, मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

पौडेल १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित हुन भने गुरुङले सभापतिको उम्मेवद्धारी फिर्ता लिएर देउवालाई सघाएका थिए । उता, जीवनबहादुर शाही भने सहमहामन्त्रीमा बद्री पाण्डेसँग पराजित भएका थिए ।

यसअघि देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका थिए ।

प्रतिक्रिया