नारायणहिटी पर्यटकीय ठाउँ हो भने आधारभूत सुविधा त दिनुपर्छ नि, योगेश भट्टराई निर्दोष छन् : विष्णु रिजाल

admin

काठमाडौं, ३ माघ : नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पूर्वमन्त्री योगेश भट्टराई निर्दोष रहेको बताएका छन् ।

रिजालले नारायणहिटी राजदरबार सङ्ग्रहालयको जग्गा भाडा प्रकरणमा पूर्वमन्त्री भट्टराईको कुनै दोष नरहेको दाबी गरे । नारायणहिटी राजदरबार सङ्ग्रहालयको जग्गा भाडामा दिने निर्णय एकदम सही रहेको रिजालले बताए ।

साथै सामान्य विषयमा पनि भट्टराईको चरित्र ह’त्याको प्रयास भइरहेको भन्दै उनले आपत्ति जनाए । उनले भने, ‘नारायणहिटी राजदरबार सङ्ग्रहालयको जग्गा भाडामा दिनु गलत छैन । हामी बुझेर बोलिरहेका छौं कि नबुझीकन बोलिरहेका छौं ? त्यो पर्यटकीय ठाउँ हो भने आधारभूत सुविधा त दिनुपर्छ नि । क्याफ्टेरिया चलाउन दिनु अपराध हो र ? यति सामान्य विषयमा पनि चरित्र ह’त्या गर्नु अन्याय हुन्छ । यो निर्णय हिजो पनि ठिक थियो, आज पनि ठिक छ, भोलि पनि ठिक हुनेछ ।’

रिजालले ६ महिनाको बीचमा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारको काममा सन्तोष गर्ने कुनै ठाउँ नरहेको समेत आरोप लगाएका छन् । गठबन्धन सरकारले विदेश नीतिमा पनि खेलबाड गरेको रिजालले बताए ।

 

प्रतिक्रिया