काठमाडौं, १३ माघ : पोखरामा जारी २०औं आहा रारा गोल्डकपको फाइनलमा मनाङ मर्स्याङ्दी पुगेको छ ।
विभागीय टिम त्रिभुवन आर्मीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मनाङले फाइनलमा स्थान बनाएको हो । अब मनाङले विभागीय टिम एपीएफसँग उपाधिका लागि भिड्ने छ ।
बुधबारो प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । तर, उक्त समयावधिमा पनि कुनै टिमले गोल गर्न सकेनन् । त्यसपछि टाइब्रेकरमा पुगेको खेल मनाङले बाजी मारेको हो ।
पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको जारी प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलको सुरुआती केही मिनेटमै मनाङ मर्स्याङ्दीले अग्रता लिने मौका गुमाएको थियो । खेलको ८ औं मिनेटमा कप्तान विमल राना पेनाल्टीमा चुक्दा मनाङले अवसर गुमाउन पुग्यो ।
खेलको ८औं मिनेटमा मनाङका खेलाडी अडेलजा सोमिडेले डिएरिया नजिकैबाट गरेको क्रसपास डिक्सभित्रै आर्मीका डिफेन्डर युद्ध शाहीको हातमा लाग्न पुगेको थियो ।
डिबक्स भित्रै ह्यान्ड भएपछि पेनाल्टी अवसर पाएको मनाङले सदुपयोग गर्न सकेन । त्यसपछि दुवै टिमले आफूले पाएका पटक-पटकका सुन्दर मौका अवसरमा परिणत गर्न नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो ।
यसअघि २०७२ सालको आहारारा गोल्डकपको फाइनलमा आर्मी र मनाङ मर्स्याङ्दी भिडेका थिए । उक्त खेलमा पनि मनाङसँग आर्मी १-० ले पराजित हुन पुगेको थियो ।
मनाङ आहा रारा गोल्डकपको सर्वाधिक विजेतामध्येमा पर्छ । मनाङले ६ पटक उपाधि चुम्दा जारी प्रतियोगितासँगै १२ पटक फाइनल यात्रा तय गरेको छ ।
मनाङ जारी सिजनमा पोखरा रंगशालामा शतप्रतिशत नतिजा ल्याउन सफल छ । पोखरामा हालै भएको शहीद स्मारक ए डिभिजन लिगका ३ खेलमा मनाङले हार व्यहोर्नु परेन ।
एपीएफ आहा रारा गोल्डकपमा १४ वर्षपछि फाइनल यात्रा पुगेको हो भने सर्वाधिक उपाधि विजेता बनेको मनाङ मर्स्याङ्दी आफ्नो विजेता इतिहासलाई कायम राख्ने दाउमा छ ।
उपाधिका लागि शनिबार पोखरा रंगशालामा मनाङमर्स्याङ्दी र एपीएफ मैदान उत्रिनेछन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।