काठमाडौं, ६ फागुन: एमसिसीको विरोधमा हुँदै आएका प्रदर्शनले हिंसात्मक रुप लिएपछि नेपाल स्थित अमेरिकी दूतावासले चासो व्यक्त गरेको छ।
दूतावासले शुक्रबार सामाजिक सञ्चारमा एक सन्देश पोस्ट गरेर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरु स्वीकार्य नहुने उल्लेख गरेको हो।
दूतावासले भनेको छ, ‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारित खुला बहसको बलियो समर्थक हौँ। एमसिसीको विषयमा पनि हाम्रो धारणा त्यही हो।’
आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहित विषयवस्तु रहेको भन्दै दूतावासले सबैले आफ्नो धारणा शान्तिपूर्वक राख्ने छुट हुनु पर्ने उल्लेख गरेको छ।
दूतावासले भनेको छ, ‘तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरु स्वीकार्य हुँदैनन्।’सरकारले एमसिसी संसदमा पेश गरेर पारित गर्ने तयारी गरेपछि पछिल्ला दिनमा विरोध प्रदर्शनहरु हिंसात्मक बनेका छन्। बुधबार र शुक्रबार भएका प्रदर्शनमा झडपसम्मको अवस्था सिर्जना भएको छ।
सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसीको पक्षमा डटेर उभिँदा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) भने विरोधमा छन्।
उनीहरुले यथाअवस्थामा एमसिसी पारित हुन नहुने बताउँदै आएका छन्। यस्तै एमालेले पनि आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेको छैन। सडकमा साना वामपन्थी दल तथा मोर्चासहितले प्रदर्शन गर्दै आएका छन्।
We are a strong supporter of free speech & public discourse based in fact, including on MCC. The right to express one’s views is intrinsic to democracy, and people must be allowed to peacefully share their views. Violence & incitement to violence are never acceptable.
— Ambassador Randy Berry (@USAmbNepal) February 18, 2022