काठमाडौं, १२ फागुन: क्यासिनो तथा मिनी क्यासिनोहरूले सरकारलाई १ अर्ब १२ करोड रुपैयाँ रोयल्टी तिरेका छैनन्। सञ्चालनमा रहेका ७ कम्पनीअन्तर्गत सञ्चालित १५ वटा क्यासिनोको रोयल्टी उठ्न बाँकी देखिएको हो।
होटल टाइगर वन र होटल सांग्रिला परिसरमा सञ्चालित क्यासिनोबाहेकको लामो समयदेखि बक्यौता रहेको पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीले बताए।
सरकारले काठमाडौंस्थित होटल याक एन्ड यती परिसरमा सञ्चालित रोयल क्यासिनो बन्द गर्न निर्देशन दिएको छ।
२०७० सालमा जारी भएको क्यासिनो नियमावलीले पुराना इजाजतपत्र पाएको कम्पनीले नियमावली सुरु भएको ९ महिनाभित्र तोकिएका मापदण्ड पूरा गरेर निवेदन दिन भनेको थियो। तर, याक एन्ड यतीले ८ वर्षदेखि निवेदन पनि नदिएको र रोयल्टी पनि नबुझाएको हो। उक्त क्यासिनोले ४२ करोड रुपैयाँ रोयल्टी र नवीकरण शुल्क तिरेको थिएन।
२०४८ सालदेखि यो क्यासिनो सञ्चालनमा छ। यस्तै ह्याप्पी आवरलाई पनि होटल तथा त्यसमा सञ्चालित क्यासिनो बन्द गर्न निर्देशन दिइसकेको छ। उक्त कम्पनीले रोयल्टीबापत करिब ३८ करोड तिर्न बाँकी छ।
पर्यटनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने क्यासिनोको लाइसेन्स नै खारेज गर्ने चेतावनी दिएका थिए। त्यसपछि १७ कम्पनीले बक्यौता बुझाएका छन्। विभागका अनुसार २०७८ फागुनको पहिलो हप्तासम्ममा ८१ करोड रोयल्टी उठेको छ। बैंक जमानतबापत १४ करोड २० लाख रुपैयाँ प्राप्त भएको विभागको तथ्यांकमा छ।
हाल इजाजतपत्र प्राप्त २४ कम्पनी सञ्चालनमा छन्। माघ मसान्तसम्म क्यासिनो बक्यौता १ अर्ब ९० करोडभन्दा बढी थियो। हरेक आर्थिक विधेयकमा क्यासिनो सञ्चालनबापत सरकारलाई राजस्व बुझाउने उल्लेख छ।
नयाँ आर्थिक वर्षको पहिलो दुई महिनाभित्र राजस्व तिरे जरिवाना नलाग्ने व्यवस्था छ। त्यसपछिको ३ महिनाभित्र १५ प्रतिशत थप र मंसिरसम्म पनि तिर्न नआए ३० प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था छ। तर, कतिपय क्यासिनोहरूले २०७१ देखि नै राजस्व बुझाएका छैनन्।
रोयल्टी तिर्न बाँकी क्यासिनो
– होटल टाइगर, रुपन्देही
– होटल सांग्रिला, काठमाडौं
– होटल ओपेरा, महेन्द्रनगर
– होटल भिसुवा, वीरगन्ज
– होटल रत्ना, विराटनगर
– होटल प्लाटिनम, काठमाडौं
– होटल स्वीटड्रिम, महेन्द्रनगर
– होटल लाकौला, भैरहवा
– होटल ढाका, काँकटभिट्टा
– होटल याक एण्ड यती, दरबारमार्ग
– होटल साथी धनगढी
– होटल सुरज, वीरगन्ज
– होटल बोकी रेडसन, भैरहवा
– होटल रियाज, काकटभिट्टा
– ओरियन्टल होटल (होटल ¥याडिसन)