काठमाडौँ, १३ बैशाख : ३० बैशाखमा हुन गैरहेको आसन्न स्थानीयतहको निर्वाचनमा काठमाडौ महानगरपालिकाको मेयर पदका लागि १ सय ६९ पल्ट रक्तदान गरेर रक्तदानको क्षेत्रमा रेकर्ड कायम गरिसकेका रक्तदाता प्रेमसागर कर्माचार्यले उन्नत लोकतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। हिजो बैशाख १२ गते पार्टीका अध्यक्ष स्वागत नेपालसहितको टोलीले बागबजारदेखि नारा-जुलुस गर्दै जिल्ला निर्वाचन कार्यालय पुगेर रक्तदाता प्रेमसागर कर्माचार्यले उम्मेदवारी दर्ता गराएका हुन्।
रक्तदाता प्रेमसागर कर्माचार्यले विभिन्न दुर्घटना तथा आन्दोलनमा घाइते भएर रगत अभावले जीवनमरणको दोसाँधमा रहेकाहरुलाई हालसम्म १६९ पटक रक्तदान गरेर अमुल्य जीवन प्रदान गरिसकेका छन्। अझ पिताजीको देहान्त हुँदा क्रियामा बसेको बेलामा समेत बिरामी तथा उनका परिवारहरुलाई सहयोग गर्ने कार्यमा नचुकेका कर्माचार्य काठमाडौँ महानगरपालिकाको इतिहास, कला, संस्कृति र बेदनासंग एकदमै परिचित रहेका छन्। सानै उमेरदेखि नै काठमाडौँमा हुर्के बढेका प्रेम सागर कर्माचार्य आफ्नो समाजसेवाको प्रेरणाको श्रोत आफ्नै बुबालाई मान्दै आएका छन्।

कर्माचार्य जस्तो कर्तव्यनिष्ठ र इमान्दार व्यक्तित्व काठमाडौ महानगरपालिकाको मेयरको लागि आवश्यक रहेको आम काठमाडौँबासीको धारणा रहेको अध्यक्ष स्वागत नेपालले बताए। त्यस्तै बागमतीको पुलमुनि सुकुम्बासी बस्तीमा जन्मिएर हुर्किएकी चेली पनिता थापामगरले काठमाडौँको उपमेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन्।