पूर्वउपराष्ट्रपति झाको ‘मधेसको माटो म’ लोकार्पण

admin

काठमाडौँ, ३० साउन : पूर्वउपराष्ट्रपति परमानन्द झाको जीवनको भोगाइसमेतका विषयवस्तु समेटिएको ‘मधेसको माटो म (सप्तरीदेखि शासनसत्तासम्म)’ पुस्तक लोकार्पण गरिएको छ ।

उपराष्ट्रपति कार्यालय लैनचौरमा आज आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले उक्त पुस्तकको लोकार्पण गर्नुभयो ।

पुस्तकमा गणतन्त्र नेपालको पहिलो उपराष्ट्रपतिका रूपमा रहनुभएका झाको जीवन भोगाइ समेटिएको छ । पुस्तकमा उहाँको सिङ्गो जीवनको कथा उल्लेख गरिएको छ ।

परिवार, देश, मधेस, न्याय, उपराष्ट्रपतिलगायत विषयलाई तीन खण्डमा सङ्गृहीत गरिएको छ । पुस्तकको पहिलो खण्डमा पृष्ठभूमि र पात्रता, दोस्रो खण्डमा न्यायको पथमा र तेस्रो खण्डमा झाङ्गिएको झा परिवारसम्बन्धी भोगाइ राखिएको छ ।

पुस्तकमा झाको बाल्यकाल, अध्ययन, न्याय क्षेत्रमा प्रवेश, राजनीतिक जीवन, पहिचानको मुद्दा, तीतामीठा अनुभव संलग्न गरिएको छ ।

पुस्तकको लोकार्पण गर्दै उपराष्ट्रपति पुनले जनताको सङ्घर्षको बलमा प्राप्त गणतन्त्रकै कारण जनताको छोराछोरी मुलुकको सर्वोच्च पदमा पुग्न सफल भएको बताउनुभयो ।

“गणतन्त्रपछि मधेसको माटोले मुलुकको सर्वोच्च पद प्राप्त ग¥यो”, उहाँले भन्नुभयो, “मुलुकको प्रथम राष्ट्रपति र उपराष्ट्रपतिमा मधेसबाटै प्रतिनिधित्व भयो, यो गणतन्त्रको उपहार हो ।”

जनताको त्याग, तपस्या र बलिदानबाट मुलुकमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्चित भएको उल्लेख गर्दै उहाँले प्राप्त उपलब्धिमा सबै नेपाली, भूगोल र वर्गले गर्व गर्न सक्नुपर्ने बताउनुभयो ।

वर्ग र समाज रहेसम्म विभेदका घटना भइरहने उल्लेख गर्र्दै उहाँले विभेदको अन्त्य गर्न सिङ्गो मुलुक एक भएर लाग्नुपर्ने बताउनुभयो । “मान्छे–मान्छे, जातजाति, क्षेत्र र माटो बीचको विभेद हुनुहुँदैन”, उहाँले भन्नुभयो, “विभेद अन्त्यका लागि सबै एक ठाउँमा आउनुपर्छ ।”

कृषि तथा पशुपक्षीमन्त्री मृगेन्द्रकुमार सिंहले पहिचानको मुद्दालाई स्थापित बनाउन पुस्तकले सहयोग गर्ने बताउनुभयो । “एउटै जाति, भाषा, संस्कृतिको मानसिकताले पहिचानको मुद्दालाई ओझेलमा पारेको छ”, उहाँले भन्नुभयो ।

सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले पुस्तकले लेखकीय व्यक्तित्वको चर्चा मात्र नगरी सिङ्गो मधेसलाई ऐना जस्तै छर्लङ्ग पारेको बताउनुभयो ।

“पुस्तकले मधेसका जनताको चित्रण गरेको छ”, उहाँले भन्नुभयो, “मधेसका बासिन्दा पनि नेपाली हुन्, नेपाली भए पनि देशभित्रै विभेदको पीडा भोग्नु परेको यथार्थलाई पुस्तकले समेटेको छ ।”

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुस्तकले मधेस आन्दोलन, समाज, संस्कृति, राजनीति र इतिहास बोकेको बताउनुभयो ।

मधेसलाई राजनीतिक इतिहासले ठगेको उल्लेख गर्दै उहाँले काठमाडौँमा बसेर मधेसको भाव, भावना र मनोविज्ञानलाई बुझ्न नसकिने बताउनुभयो ।

समीक्षक उद्धवप्रसाद भट्टराईले पुस्तकले लेखक झाको देश र माटोप्रतिको अगाध स्नेहलाई प्रस्ट पारेको उल्लेख गर्दै पुस्तक पठनीय, मननीय र प्रेरणास्पद रहेको बताउनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता डा सुरेन्द्रकुमार झाले संविधानमा नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतालाई स्वीकार गरिएको भए पनि राज्यको मनोविज्ञान अझै परिवर्तन हुन नसकेको बताउनुभयो ।

लेखक कुञ्जका अध्यक्ष कमल ढकालले साहित्यमा सिर्जनशीलताको खोजी गर्दै प्रत्येक नागरिकलाई सिर्जनशील बनाउन आफू लागिपरेको बताउनुभयो । लेखक झाले पुस्तकमा आफूले जीवन भोगाइ, अनुभव र व्यवहार उल्लेख गरेको बताउनुभयो ।

विसं २००२ सालमा सप्तरीको मौवाहा (हाल बलान विहुल गाउँपालिका)मा जन्मनुभएका झा नायब सुब्बा, कानून अधिकृत, जिल्ला न्यायाधीश, उच्च अदालतको मुख्य न्यायाधीश र सर्वोच्च अदालतको न्यायाधीश हुँदै मुलुकको उपराष्ट्रपति पदमा पुग्नुभएको थियो ।

 

प्रतिक्रिया