काठमाडौँ, ५ फागुन : फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय गरेको छ। सरकारले संसद्मा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ। यसलाई आगामी १० गते बस्ने प्रतिनिधिसभाको बैठकमा पेस गर्ने भएको छ।
शुक्रवार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मण्डन देउपुर ६, बेथानचोक २, लिखु ४, रघुगंगा २, तातोपानी ४, रिद्धिकोट ३, रुरु क्षेत्र ४ र अपि हिमाल ४ गरी जम्मा ८ ठाउँमा औद्योगिक ग्राम स्थापना गर्न स्वीकृति दिने बताइन्। बर्ड फ्लु रोग नियन्त्रणका क्रममा कानून बमोजिम नष्ट गरिएका वस्तुका लागि कार्यविधि बनाएर राहत प्रदान गरिनेछ।
उनले बिदालाई व्यवस्थित गर्न योपटक पृथ्वी जयन्ती र जनयुद्ध २ वटा बिदा थपेर गत वर्षकै बिदा दिने तर आगामी वर्षका लागि भने बिदा व्यवस्थित गर्न पुनरावलोकन गरी अघि बढ्ने निर्णय भएको पनि बताइन्।
२०७९ साल फागुन १५ देखि १८ गतेसम्म जेनेभामा आयोजना हुने संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२ औं सत्रमा परराष्ट्रमन्त्रीको नेतृत्वमा सहभागी हुन जाने स्वीकृत दिने निर्णय भएको छ।
यसैगरी जग्गा उपभोग गर्ने निर्णय गरिएको छ। मोरङ जिल्ला साविक लेटाङ गाविस– १ को ०४, १६ बिघा सार्वजनिक जग्गा ३० वर्षका लागि प्रहरी चौकी बुधवारे लेटाङलाई प्रयोग गर्न स्वीकृति दिने, गोरखा साविक सिद्धिवास गाविस–८ को ४६२२ रोपनी जग्गा चुमनुम्बी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने र ललितपुर जिल्ला साविक लुभु–३ को २/२ रोपनी सरकारी जग्गा लुभु प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माणार्थ उपयोग गर्न स्वीकृति दिने निर्णय गरिएको छ।
काठमाडौं जिल्ला साविक थानकोट गाविस वडा नम्बर २ को २३००० रोपनी सरकारी जग्गा चन्द्रागिरी नगरपालिकालाई १५ शय्याको आधारभूत अस्पताल निर्माण गर्न स्वीकृति दिने मनित्रपरिषद्ले निर्णय भएको छ।
प्रवक्ता शर्माले सरकारले नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्षमा इन्जिनियर डा. पदमबहादुर शाही, उपाध्यक्षमा इन्जिनियर डा. विकास अधिकारी र सदस्यमा इन्जिनियर डा. रेस्मा श्रेष्ठलाई मनोनयन गरेको बताइन्।
त्यस्तै सरकारले २०७९ फागुन ११ देखि १२ सम्म स्वीजरल्याण्डमा हुने ५ औं ग्लोबल मन्त्रिस्तरीय समिट अन प्यारेन सेफ्टी विशेष सम्मेलनमा भाग लिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई जान स्वीकृति दिने निर्णय गरेको छ।