माओवादीले आफ्नो स्वार्थ मिल्नेसँग सहकार्य गर्ने

admin

काठमाडौं, फागुन ९ : ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन्।

यी स्वार्थमा जोसँग मिल्छ, त्यससँग सहकार्य हुन्छ।’ सरकारको नेतृत्वमा रहेका माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराको पार्टी पदाधिकारीको बैठकपछिको भनाइ हो यो।

एमालेलाई राष्ट्रपति बनाउने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते आलोपालोको पहिलो प्रधानमन्त्री नियुक्त भएका थिए। तर पुस २६ गतेसम्म आइपुग्दा विपक्षी बेन्चमा पुगेको नेपाली कांग्रेसले पनि दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएको थियो।

कांग्रेससहित प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघिका साझेदार दलहरूको पनि समर्थन पाएका दाहालले पूर्ववत् अवस्था परिवर्तन भएको भन्दै राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेका थिए।

प्रतिनिधिसभाको सभामुख निर्वाचनअघि माघ ३ गते सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमतिको प्रस्तावलाई अघि बढाएका दाहालले पछिल्ला दिनमा कांग्रेस, नेकपा एकीकृत समाजवादी (नेकपा एस) तर्फ हात बढाएका छन् भने एमालेसँग दुरी बढाउँदै लगेका छन्।

त्यसले एमालेलाई झस्काइरहेका बेला राष्ट्रपतिका विषयमा निर्णय लिन बोलाइएको बैठकको पूर्वसन्ध्यामा दाहालले कांग्रेस पदाधिकारी र नेकपा एसका अध्यक्षसँग छलफल गरेका थिए।

आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस नेताहरूसँग छलफल गरेका दाहालले सोमबार सिंहदरबारमा नेपालसँग कुरा गरेका हुन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया