काठमाडौं, साउन ३ : काठमाण्डौबाट धुलिखेलका लागि छुटेको यात्रु बहाक बस साँगामा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
धुलिखेल–काठमाण्डौ चल्ने बा ४ ख ९३९३ नम्बरको बस सूर्यविनायक नगरपालिकाको वडा नम्बर १० साँगा स्थित झोलुंगे पुल मुनि दुर्घटनामा परेको हो ।
दुर्घटनामा बसका चालक सहित १० जना घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिनुभयो ।
डिएसपी पाठकका अनुसार घाइते हुनेमा सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका वडा नम्बर १ घर भई हाल काठमाण्डौं नयाँ बसपार्क बस्ने बसका चालक ३१ बर्षीय पुर्ण बहादुर पाख्रिन रहेका छन् ।
घाइते मध्ये चालक पाख्रिन र बनेपा नगरपालिका वडा नम्बर १३ साँगा का ५९ बर्षीय अर्जुन खड्काको मध्यपुर ठिमी अस्पतालमा उपचार भईरहेको छ ।
अन्य घाइते भने उपचार पश्चात डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ घर भई हाल काठमाण्डौं बसुन्धारा बस्ने ४४ बर्षीय रिता खत्री, बनेपा नगरपालिका वडा नम्बर ७ का रितिका श्रेष्ठ, सिन्धुलीको घ्याङलेख गाउँपालिका वडा नम्बर १ घर भई हाल भक्तपुरको सूर्यविनायक पाण्डुबजार बस्ने ३० बर्षीय सुर्य बहादुर पाख्रिन रहेका छन् ।
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ५ घर भई बनेपा बस्ने ३९ बर्षीय अमर लामा, बनेपा नगरपालिका वडा नम्बर ३ का २२ बर्षीय सुस्मिता श्रेष्ठ पनि उपचार पश्चात डिस्चार्ज भएको डिएसपी पाठकले बताउनुभयो ।
बनेपा नगरपालिका वडा नम्बर १३ का २० बर्षीय विनय जोशी, बनेपा भैसेपाटीका २० बर्षीय दिक्षा तिमल्सिना र खानीखोला गाउँपालिका वडा नम्बर ४ जगथली घर भएका १८ बर्षीय दिपक वि.क उपचार पश्चात घर फर्किएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको मध्यपुर ठिमी अस्पताल, डाक्टर इवामुरा अस्पताल र शीर मेमोरियल अस्पताल बनेपामा उपचार भएको थियो । बस सडकबाट करिब ३० मिटर तल खसेको भक्तपुर प्रहरीले जनाएको छ ।