काठमाडौं, साउन १५ : नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले सुन तस्करी प्रकरणमा आफु दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पार्नुभएको छ ।
सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पुनले आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको तस्वीरलाई लिएर अहिले आफ्नो नाम मुछ्नु आपत्तीजनक रहेको भन्दै सुन तस्करी प्रकरणमा आफु दोषी देखिए जस्तोसुकै सजाय भोग्न पनि तयार रहेको स्पष्ट पार्नुभयो ।
उहाले सुन प्रकरणमा आफ्नो सहभागी भएजस्तो गरि प्रचार गरिएको भन्दै राज्यको जुनसुकै निकायले गर्ने छानविनका लागि आफु तयार रहेको बताउनुभयो ।
सुन प्रकरण लगाएत कुनै पनि प्रकरणमा दोषी देखि माओवादी वा अन्य कोहि व्यक्तिलाई छोड्न नहुने उहाले बताउनुभयो ।
उहाले पदाधिकारी बैठकमा पनि आफुले छानविन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएको र प्रधानमन्त्रीले पनि निष्पक्ष ढंगले छानविन गर्ने प्रतिवद्धता जनाउनुभएको जानकारी दिनुभयो ।
पुनले संसदीय समिति, न्यायीक समिति वा स्वतन्त्र छानविन समिति बनाउन माओवादी केन्द्र र प्रधानमन्त्री तयार रहेको बताउनुभयो । फरक प्रसंगमा पुनले माओवादी नेताहरु एकतावद्ध भएर प्रधानमन्त्री र सरकारलाई सहयोग गरिरहेको जिकिर गर्नुभयो ।