काठमाडौं, ९ भदौ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्रीले नै जातिय पहिचानका नाममा मुलुकमा द्वन्द्व सिर्जना गर्न खोजेको आरोप लगाउनुभएको छ ।
नेपाल प्रेस युनियन मोरङको पदस्थापन कार्यक्रमलाई शनिबार मोरङमा सम्बोधन गर्दै कोइरालाले बहुमत भए जातीय आधारमा प्रदेशको नामाकरण गर्ने अभिव्यक्ति दिएको र जातिय पहिचानका नाममा मुलुकलाई द्वन्द्वमा फसाउन खोजेको बताउनुभयो ।
उहाले धार्मिक सद्भाव भड्काउने प्रयासलाई तत्काल नियन्त्रण गर्न सरकारलाई सुझाव दिनुभयो । कोइरालाले मुलुकको राजनैतिक, आर्थिक र सामाजिक अवस्था खराब हुन लाग्दा समेत सुधार गर्न सरकारले चासो नलिएकोमा चिन्ता व्यक्त गर्नुभयो । संविधान अनुसार काम नगर्दा अदालत सक्रिय हुने गरेको भन्दै कोशी प्रदेशमा संविधानको पालना गरी सरकार निर्माण गर्न सुझाव दिनुभएको छ ।
उहाले जनताले बुझने गरी ललिता निवास, भूटानी शरणार्थी, सुन तस्करी काण्डलगायतको छिनोफानो गरेमा मात्र मुलुकमा विश्वासको वातावरण सिर्जना भई सुशासन कायम हुने बताउनुभयो ।