काठमाडौं, ११ भदौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहेका व्यक्तिहरु नैबिभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाउनुभएको छ ।
सोमबार काठमाडौंमा आयोजना गरिएको जनप्रतिनिधिसंग केपी ओली कार्यक्रममा ओलीले ललिता निवास, नक्कली भुटानी, सुन तस्करी लगाएतका प्रकरणमा सत्तामा रहेका व्यक्तिहरु नै बिभिन्न प्रकरणमा मुछिएकाले छानविन प्रभावकारी हुन नसकेको आरोप लगाउनुभएको हो । उहाले एउटा प्रकरणको अनुसन्धानलाई कमजोर पार्न सरकारले एकमाथि अर्को प्रकरण ल्याएको तर्क गर्नुभयो ।
यती होल्डिङस, वाइडबडी, गिरीबन्धु लगाएतका प्रकरणको छानविन गर्न सरकारलाइ चूनौति दिदै ओलीले उक्त प्रकरण छानविन गर्दा आफुलाई फरक नपर्ने तर सत्तामा रहेका दलका नेताहरु मुछिने बताउनुभयो ।
सत्तामा भएकाहरुले नै सुन तस्करी गरेर ध्यान मोड्नका लागि पशुपति सुन प्रकरण निकालेको उहाको भनाइ छ । उहाले आफ्नो पार्टी कमिसनको पछाडि लाग्ने पार्टी नभएको र देशबिकासका साथै समृद्धिमा ध्यान केन्द्रीत रहेको जिकिर गर्नुभयो । ओलीले तत्कालिन अवस्थामा बद्नाम गर्नका लागि एमालेका इश्वर पोखरेलमाथि पानी ट्याङ्कीमा पैसा लुकाएको अरोप लगाइएको पनि बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपालाई अदालतले बिघटन गरेको सहि नभएको बताउनुभयो । नेकपाको सट्टा अर्को नाम दर्ता गर्न अदालतले भन्दा प्रचण्डले नमानेको उहाले बताउनुभयो । त्यसपछि पनि बिभिन्न शक्ति मिलेर एमाले फुटाएको समेत उहाको भनाइ छ ।