काठमाडौं, १९ भदौ: पूर्व महान्यायधिवक्ता डा. युवराज संग्रौलाले नेपाल भूगोलका हिसाबले सानो भएपनि सभ्यता र भाषाका हिसाबले विश्वकै ठूलो मुलुक भएको बताउनु भएको छ ।
काठमाण्डौ स्कूल अफ ल तथा युवा समृद्धि अभियान नेपालको संयुक्त आयोजनामा भक्तपुरमा ठिमीमा भएको गाइजात्रा पर्वका अवसरमा बोल्दै संग्रौलाले नेपालमा ६ वटा सभ्यता र १ सय ३० भन्दा बढी भाषा संसारका कुनै पनि मुलुकमा नभएको दाबी गर्नु भयो ।
परापूर्व कालदेखि काठमाडौं सम्पूर्ण संस्कृतिको उद्गम थलो भएको भन्दै उहाले बौद्ध धर्म मात्र नभएर किरात धर्मको उद्गम थलो पनि काठमाण्डौं नै रहेको उल्लेख गर्नु भयो । बौद्ध धर्मका कतिपय ग्रन्थहरु नेवारी भाषामा लेखिएकाले नेवारी भाषासँग अन्य संस्कृतिको पनि सम्बन्ध रहेको बताउनु भयो ।
आफु काठमाडौं महानगरको सल्लाहाकार रहदा नेवारी भाषालाई सरकारी कामकाजको भाषा बनाउन पहल गरे पनि सर्वोच्च अदालतका कारण सफल नभएको बताउनु भयो । भाषा, धर्म, संस्कृतिलाई सम्मान गर्न नसक्दा देश बिग्रिएको भन्दै संग्रौलाले विद्यालय स्तरबाटै संस्कृति र मातृभाषा बारे अध्यापन गराउनु पर्नेमा जोड दिनु भयो ।
काठमाडौंको संस्कृति मासेर नेपालीको पहिचान नाश गर्न खोजिएको आरोप लगाउदै उहाले च्यासल,मन्दिर र ढुंगे धाराको संरक्षण नहुदा नेपालीको पहिचान क्षयीकरण हुदै गएको बताउनुभयो । संस्कृतिलाई माया गर्न नसक्ने हो भने सभ्यताको संरक्षण नहुने उहाको भनाई थियो ।