एनसेलको सेयर खरिद बिक्रीबारे छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने राज्य व्यवस्था समितिको निर्णय

admin

काठमाडौं, मंसिर २२ : प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले एनसेलको सेयर खरिदबिक्रीसम्बन्धमा सरकारसंग जानकारी लिने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले एनसेलका बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समितिमा बोलाएर जानकारी लिने निर्णय गरेको हो । बैठकमा समिति सदस्यहरुले एनसेलका बिषयमा प्रधानमन्त्रीसंगै जानकारी लिनुपर्ने धारणा राखेका थिए ।

सांसदहरुले प्रधानमन्त्रीलाई बोलाउनुपर्ने भनेपछि समितिले प्रधानमन्त्रीलाई समितिमा बोलाउन पत्राचार गर्ने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

त्यसअघि समिति बैठकमा सदस्य रघुजी पन्तले एनसेल खरिदबिक्री सम्बन्धमा प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई समितिमा बोलाएर जानकारी माग गर्नुपर्ने बताउनुभयो । एनसेलका बिषयमा छलफल गर्दा कार्यक्षेत्रका बारेमा भने स्पष्ट हुनुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै बैठकमा सांसद गगनकुमार थापाले एनसेलको शेयर खरिदबिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको ठूलो साठगाँठ हुनसक्ने बताउनुभयो । उहाले एनसेलको खरिदबिक्रीले दिर्घकालीन असर पुग्न सक्ने भएकाले समितिले गम्भीर भएर छलफल चलाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादवले एनसेल खरिदबिक्रि प्रकरणको यथार्य आउनुपर्ने बताउनुभयो । उहाले एनसेलको कर छलीका बिषयमा यसअघि पनि बहस हुँदा गम्भीर हुन नसकेको र राजनीतिक तथा प्रशासनिक रुचि देखिएको तर्क गर्नुभयो ।

त्यस्तै अन्य सदस्यहरुले नियामक निकायलाई थाहा नै नदिई विदेशमा कम्पनी खडा गरी न्यून मूल्याङ्कनमा शेयर किनबेचका क्रममा ठूलो अनियमिता भएको हुनसक्ने भएकाले सरकारले समितिलाई प्रष्ट पार्नुपर्ने धारणा राखेका थिए । समिति बैठकले फास्ट ट्रयाकबारे नेपाली सेनासंग जानकारी लिने निर्णय गरेको छ भने सेनाको उमेर विवादका सम्बन्धमा समितिले रक्षा मन्त्रीसंग समेत छलफल गर्ने निर्णय गरेको छ ।

 

प्रतिक्रिया