गोरखामा अध्यक्ष ओलीले भने – बूढीगण्डकी परियोजना जसरी पनि सफल बनाउनुपर्छ

admin

काठमाडौं, मंसिर २३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई सफल बनाउनैपर्ने बताउनुभएको छ ।

झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा, २०८० अन्तर्गत शनिबार गोरखामामा आयोजित कार्यक्रममा ओलीले बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताउनुभयो ।

बूढीगण्डकी आयोजना निर्माण गर्न ठुलो क्षेत्रफलका लागि धेरै रकम मुआब्जा दिइसकेकाले पनि यसलाई निर्माण गर्नैपर्ने उहाले बताउनुभयो । नेपालका परियोजना नेपालाई फाइदा हुने गरी जुन देशले बनाउँछु भन्छन् त्यही देशलाई दिनुपर्ने ओलीले प्रष्ट पार्नुभयो । उहाले एउटा छिमेकीलाई परियोजना दिनै पर्ने अर्कोलाई दिनै नहुने भन्ने हुन नसक्ने ओलीले बताउनुभयो ।

अहिलेको अवस्थामा नेपाल सरकार आफैँले ठूला ठुला आयोजनाको काम गर्न नसक्ने उहाँले बताउनुभयो । ओलीले कर्मचारीलाई तलब खुवाउनै ऋण लिने सरकारले कर्णाली जस्ता ठुला आयोजना आफैँ बनाउँछौँ भन्ने कुरा गफ मात्रै हुने तर्क गर्नुभयो ।

कार्यक्रममा एमाले अध्यक्ष ओलीलाई गोरखाका राजनीतिक दलहरूको तर्फबाट सर्वदलीय माग–पत्र हस्तान्तरण गरिएको थियो । ओलीले माग–पत्रको सन्दर्भमा नेकपा एमाले गम्भीर रहेको बताउनुभयो ।

प्रतिक्रिया