एक्लै चुनाव लडेमात्रै कांग्रेस बलियो हुन्छ : शेखर कोइराला

admin

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले एक्लै चुनाव लडेमात्रै कांग्रेस बलियो हुने बताउनुभएको छ ।

चितवन–काठमाडौँ प्रजातान्त्रिक सङ्गमको ३३औँ वार्षिक साधारणसभा तथा १२औँ अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै कोइरालाले देशलाई सम्हाल्ने लोकतान्त्रिक पार्टी कांग्रेस भएको भन्दै एक्लै चुनाव लडेमात्रै कांग्रेस बलियो हुने बताउनुभएको हो । उहाँले पार्टीलाई परिवर्तन गर्दै बलियो बनाउनका लागि जनतामाझ जानुपर्ने बताउनुभयो ।

उहाले केही समयदेखि चितवन प्रजातान्त्रिक आन्दोलनभन्दा अलग बाटोबाट हिँडिरहेको र व्यक्तिवाद हावी भएका कारण चितवनमा पार्टी कमजोर देखिएको जिकिर गर्नुभयो । चितवनका क्षेत्र, पालिका, वडामात्र नभई टोलमा समेत व्यक्तिवादी चरित्र हाबी हुँदा पार्टी सङ्गठन कमजोर हुँदै गएको उहाँको भनाइ थियो ।

नेता कोइरालाले देशको आर्थिकस्थिति विदेशीसँग ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा पुगेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । कोइराराले देशका ठूला भ्रष्टाचारमा राजनीतिक नेता, कर्मचारी र व्यापारी जोडिएको भन्दै भ्रष्टाचार अन्त्य नगरेसम्म देशको विकास नहुने बताउनुभयो ।

प्रतिक्रिया